काठमाडौं ८ असोज । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो ।
आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।
क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ । उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे भने उनका दशौँ लाखौँ समर्थकहरु थिए । उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए ।






