
लन्डन माघ २५ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आइतबार स्वदेश फिर्ता भएका छन् ।
चार वर्षको कार्यकाल पूरा गरी राजदूत डा. सुवेदी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीसँगै आइतबार दिउँसो ३ बजे कतार एयरवेज विमानमा लन्डन हिथ्रो विमानस्थल टर्मिनल ५ बाट नेपाल प्रस्थान गरेका हुन् । उनको कार्यकाल गत सेप्टेम्बर महिनामै सकिए पनि नयाँ राजदूत नियुक्ति प्रक्रिया लम्बिएका कारण उनी ढिला गरी फर्किएका हुन् ।
राजदूत सुवेदीलाई लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका कर्मचारीले विमानस्थल पुगेर बिदाइ गरेका थिए । बेलायतका लागि नेपालको राजदूतका रुपमा सन् २०१६ सेप्टेम्बर महिनामा डा. सुवेदी बेलायत आएका थिए । गोर्खाहरुको मन जित्ने गरी दुई देशबीचको संवाद र वार्ताको लागि उनले पहल गरेका थिए ।
नेपाल फर्कनुअघि दूतावासमार्फत पत्र लेख्दै राजदूत सुवेदीले नेपाली राजदूतावासमा रहँदा आफूले प्राप्त मित्रता, आत्मीयता, एवं सहयोग र सद्भावका लागि आभार तथा कृतज्ञता प्रकट गरेका छन् । उनले आफू नेपाल पुगेपछि पनि सम्पर्कमा रहने जनाउँदै मित्रता, सुसम्बन्ध, आत्मीयता सदासर्वदा कायम रहने विश्वास दिलाएका छन् ।
सुवेदीको कार्यकालपछि बेलायतको नयाँ राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी फागुन पहिलो साताभित्रै लन्डन आइपुग्ने कार्यक्रम रहेको बुझिएको छ ।
राजदूत सुवेदीको बिदाइ पत्र







