पोखरा २५ माघ । गत वर्ष माघ महिनामा पहिलो पटक घाँटीमा सानो गिर्खा देखापरे पनि पूर्णसिंह गुरुङले तत्कालै अस्पताल भने जान सकेका थिएनन्, सामान्य साहुको गाडी चलाउने जागिर आफैं पनि आर्थिक रुपमा त्यत्ति सबल नभएको र घरमा वृद्ध बाबा, श्रीमती अनि ३ जना छोराको बाबा भएको हुँदा सबैको ख्याल गर्नु पर्ने दायित्व आफैले बोकेको पूर्ण सिंह गुरुङलाई आर्थिक अवस्था नाजुक भएकोले नै अस्पतालमा पुग्न निकै हम्मे हम्मे परेको थियो । रात रहे अग्राख पलाउँछ भने झैँ आर्थिक अवस्था नाजुक भएकै करणले गर्दा २०७७ कात्तिकसम्म आइपुग्दा घाँटीमा केही असहज रुपमा गिर्खा बढ्दै गरेपछि उनले पहिलो पटक दसैं पछाडी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चेक गराउँदा डाक्टरद्वारा क्यान्सरको लक्षण भएको र थप उपचारको निम्ति गण्डकी मेडिकल कलेजमा जान अनुरोध गरेका थिए । त्यसपश्चात् पूर्णसिंह गुरुङ गण्डकी मेडिकल कलेजमा गएपछि त्यहाँ डाक्टरद्वारा क्यान्सर भएको पुस्टि गरे । पछि निजलाई चितवनस्थित बीपी मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।
विभिन्न साहुहरुको गाडीको स्टेरिंग घुमाउँदा घुमाउँदै, कति घुम्ती छिचोल्दै कयौं साहुको भारीहरु जतनसँग बुझाउँदा बुझाउँदै, आफ्नै जिन्दगीको गाडी भने फसेको पत्तै भएनछ पूर्णसिंह गुरुङलाई । मध्य नेपाल नगरपालिका वडा नम्बर ७, चिसंकु, लमजुङमा बस्ने पूर्णसिंह गुरुङ, एकदम मिजासिलो र काम गर्न सजिला व्यक्ति हुन् । आफूलाई लागेको क्यान्सर रोगबाट पीडित भई उपचारका निम्ति बीपी मेमोरियल क्यान्सर हस्पिटलमा बस्दै गर्दा आर्थिक अवस्थाकै कारणले गर्दा उपचार गर्न सक्दिनँ र अब मर्छु होला झैँ लागेको थियो भन्छन् पूर्णसिंह । तर सामाजिक संजालमा केही सामाजिक अभियन्ताहरुद्वारा “पूर्ण भाइ बचाउ” अभियान सुरु गरेको थाह पाउँदा आफूलाई अब भने मर्दिनँ होला र उपचार गर्न पाउने भएझैं लागेको थियो र केही आशाको दियोहरु पलायो भन्छन् ।
यसै क्रममा स्थानीय निवासी मध्य नेपाल नगर पालिका-८, स्याउली बजार, लमजुङ (हाल पोखरा) का एक सामाजिक अभियन्ता दिपक गुरुङद्वारा आफ्नो व्यक्तिगत फेसबुक पेजमा “पूर्ण भाइ बचाऊ” आर्थिक सहयोग संकलन अभियान सुरु गरेर कुल रकम नगद रु ७,१९,८९३।- संकलन गरी माघ २२ गते विश्व क्यान्सर दिवसको दिन पोखराबाट गई निज पूर्णसिंह गुरुङको लमजुङ, मध्यनेपाल नगरपालिका- ७, चिसंकु अवस्थित घरमा नै गई देश तथा विदेशबाट सहयोग रकम पठाउनुभएको सम्पूर्ण व्यक्तिहरुको नामावली रकमसहित वाचन गरी फेसबुक लाइभमार्फत् जानकारी गराउँदै क्यान्सर पीडित पूर्णसिंह गुरुङलाई नगद रु ५,५१,३००।- र नगद रु १,५६,८९३।- चेकमार्फत गरी कुल जम्मा रकम नगद रु ७,१९,८९३।- बिरामीको उपचारका निम्ति सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सामाजिक अभियन्ता दिपक गुरुङ विगत १३ वर्षबाट सामाजिक क्रियाकलापमा व्यस्त छन् भने उनीद्वारा पोखरामा एक बालगृह पनि स्थापित रहेको छ । निज दिपक गुरुङद्वारा सामाजिक संजालको प्रयोग गर्दै क्यान्सरपीडित पूर्णसिंह गुरुङको उपचारको निम्ति नगद रु ७,१९,८९३। – हस्तान्तरण गर्नमा उनलाई धेरै सहयोग दाताहरुद्वारा देश विदेशबाट रकम पठाइ सहयोग गरेका थिए ।
नेपालबाट दिपक गुरुङद्वारा चालिएको यो अभियानमा इजरायलबाट कमल गुरुङ र सानु गुरुङले अभियन्ताको रुपमा साथ दिएर बैदेशिक रोजगारमा इजरायल पुगेका अन्य साथीहरुबाट सहयोग रकम उठाई उपलब्ध गराइएको थियो । इजरायलबाट मात्रै नगद रु १,१३,५००।- प्राप्त भएको थियो । सिङ्गापुरस्थित अभियन्ता अशोक गुरुङ, लालबहादुर गुरुङ, भुपेन्द्र गुरुङ तथा यामबहादुर गुरुङद्वारा आयोजित आर्थिक संकलन अभियानमा उनीहरुका साथीहरु तथा लमजुङ परिवार सिङ्गापुरका विभिन्न व्यक्तिद्वारा नगद रु २,६५,५०३। – संकलन गरी नेपाल पठाइएको थियो । कास्की घर भई हाल साउदी अरबमा कार्यरत दिपक पाण्डेले साउदीमा आफूलाई अभियन्ताको रुपमा चिनाई साउदीस्थित कार्यरत साथीहरुबाट नगद रु ३४,७००। – र कतारबाट अभियन्ता प्रयास परियारद्वारा नगद रु २६,०३७। – पठाएका थिए । यसरी उठेको एकमुस्ट रकम नगद रु ७,१९,८९३।- दिपक गुरुङद्वारा क्यान्सरपीडित पूर्णसिंह गुरुङलाई प्रदान भएको थियो ।
लमजुङ जिल्ला, मध्यनेपाल नगर पालिका-७ , चिसंकु अवस्थित पूर्णसिंह गुरुङको घरको आँगनमा गरिएको नगद हस्तान्तरण कार्यक्रममार्फत “पूर्ण भाइ बचाऊ” आर्थिक सहयोग संकलन अभियान चालेका दिपक गुरुङद्वारा सम्पूर्ण सहयोग दाताहरुप्रति आभार व्यक्त प्रकट गर्नुका साथै विशेष धन्यवादसहित बिरामीको शीघ्र स्वास्थ्यको कामना गरेका थिए ।
कार्यक्रममा उनको साथी समाजसेवी नर्बु योल्मो तथा जस्सु गुरुङद्वारा सहजीकरणको भूमिका निर्वाह गरेका थिए भने तमु मै ता कार्यक्रमका संचालक युग गुरुङद्वारा फेसबुक लाइभ गरिएको थियो भने उज्वल गुरुङद्वारा सो कार्यक्रमको भिडियो छायांकन गरिएको थियो । पूर्णसिंह गुरुङद्वारा आफ्नो घाँटीको क्यान्सर उपचार्थ माघको ५ गतेको दिनसम्म आइपुग्दा पहिलो केमो लगाउँदासम्म मात्र नै नगद तीन लाख खर्च भइसकेको जानकारी भएको छ भने दोस्रो केमोको लागि हाल उनी बीपी मेमोरियल क्यान्सर अस्पतालमा गएका छन् । डाक्टरको सल्लाह अनुसार निज बिरामीलाई ६ देखि ८ वटा केमो चढाउनु पर्ने हुनसक्ने छ ।







