प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

SHARE:


काठमाडौं माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।

सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए ।
उनले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे । “शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन”, उहाँले भन्नुभयो, “हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह ‘ग्रिन रिभोलुसन’ हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।”

नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने बताए । उनले आफ्नो समूहमा फर्कनको सूची निकै लामो रहेको दाबी गरे । अहिलेको सङ्घर्ष केही व्यक्ति र पदका लागि नभएको प्रष्टीकरण दिँदै अध्यक्ष दाहालले कुर्सीका लागि नभई जनताको मुक्ति र हितका लागि आन्दोलन गर्नुपरेको बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै सूर्य चिह्न आफूहरुले नै पाउने जिकिर गरे । “चुनाव चिह्न सूर्य हामीसँग छ । निर्वाचन आयोगलाई शंका छ भने ४४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्छ”, उनले भने । आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर प्रधानमन्त्रीले गरेको दाबीको खण्डन गर्दै उनले प्रश्न गरे, “केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन् । पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने ? पार्टीको विधानबाट थाहा पाउने ? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन । सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन । कसरी पहिलो नम्बरको अध्यक्ष ?”

वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको आवाज नसुने जनआन्दोलनको आगो दन्किने चेतावानी दिए । प्रचण्ड र माधव नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनले आयोगलाई आधिकारिकता छुट्ट्याउन गाह्रो परेको भए आफूहरुको प्रदर्शनलाई हेर्न आग्रह गरे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन आन्दोलन गर्नुपरेको उल्लेख गर्दै भने, “पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सञ्चालन गर्नु र असंवैधानिक कदम असफल पार्न, संवैधानिक परिषद्को अवैधानिक बैठकबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौँ ।”

स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीबाट नेतृत्वमा आएका व्यक्तिबाट असंवैधानिक कदम गरिएकाले आम जनता आन्दोलनमा उत्रनुपरेको बताए । अर्का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले लाखौँको बलिदानबाट प्राप्त संविधानलाई मिच्न नपाइने बताए ।
अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले नयाँ र क्रान्तिकारी पार्टी बनाउन सबैले खरो उत्रनुको विकल्प नभएको बताए । केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेपाली नागरिक सार्वभौम अधिकारसम्पन्न भएको जिकिर गर्दै नागरिकको बोल्ने अधिकारलाई कसैले कुण्ठित गर्न नसक्ने बताए ।

सभाअघि राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो । माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौरबाट जुलुस भएको थियो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो । सभाका लागि पुरानो बसपार्क, प्रदर्शनी मार्ग र भद्रकालीका बीचमा ‘टी’ आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!