
काठमाडौं माघ २९ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।
नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको उनले बताएकी छन् । अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’
संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँ सडकमा बाँकी छ ।’






