लन्डन फागुन ७ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको छ । केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।
तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गर्नुभएको अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।






