काठमाडौँ । दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
गत शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेर विश्व कीर्तिमान कायम गरे ।
झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।
बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका रहेछन्, ‘हामी सफल भयौं ।’ बुढामगरको आरोहणका लागि एचएसटी एडभेन्चर्सका क्रिस थापा एक्सपिडिसन लिडरका रूपमा छन् । थापाले बेलायतको स्पेसल एअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।
बुढामगर रोल्पाको मिरुल गाउँमा सन् १९७९ मा जन्मिएका हुन् । पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको थियो । पर्वतारोहणसम्बन्धी नियमावली– २०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो ।
नेपालको संविधानको धारा १८ को उपधारा २ मा अपांगता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्थाअनुरूप अदालतले मार्गप्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको थियो । उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् ।