एटा संवाददाता
लन्डन । कवि तथा गीतकार भावेश भुमरीलाई एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले गत अगस्ट १६ मा एभरेस्ट टाइम्सको कार्यालयमा स्वागत गरेका छन् ।
नेपाली साहित्य र गीत, सङ्गीतका क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरी गत मे ३१ मा बेलायत आएका हुन् । उनी विभिन्न कार्यक्रमहरूमा सहभागी भए । भुमरी बेलायत आएपछि करिब दुई दर्जन साहित्यिक, साङ्गीतिक, सामाजिक र बौद्धिक कार्यक्रममा सहभागी भएका हुन् । नेपाली साहित्यको मूलधारमा स्थापित भुमरीका हालसम्म ११ वटा कृति प्रकाशित छन् भने राष्ट्रिय तहका विभिन्न मानसम्मान र पुरस्कार सम्मानित तथा पुरस्कृत भएका छन् ।
बेलायत आएपछि भुमरीले विभिन्न कार्यक्रममा सहभागी हुँदै गीत लेखनसम्बन्धी प्रशिक्षण र नेपाली गीत, सङ्गीत र बेलायती गीतकारका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका छन् । विभिन्न कार्यक्रम, भेटघाट र भ्रमणमा व्यस्त भुमरीका गतिविधिका बारेमा एभरेस्ट टाइम्सले प्राथमिताका साथ समाचार प्रकाशन गर्दै आएको छ । स्वयम् भुमरी पत्रकारिता क्षेत्रमा समेत क्रियाशील भएकाले उनी एभरेस्ट टाइम्सको कार्यालयमा उपस्थिति हुनु र उनको स्वागत गरिनु एउटा सकारात्मक पक्ष हो । भुमरीले ५० र ६० को दशकमा नेपालका विभिन्न पत्रिकाहरूमा संवाददाता, स्तम्भ लेखन र भाषा सम्पादनका कार्य गरेका थिए भने हाल विभिन्न विषय र पत्रपत्रिकामा स्वतन्त्र लेखनलाई अपनाएका छन् ।
यस्तो गर्दागर्दै पनि भुमरीको मुख्य विषय भने साहित्यलेखन र गीति एल्बम प्रकाशन नै हुन् । भुमरी बेलायतका सबै कार्यक्रम र भ्रमण समापन गरी यही अगस्ट १५ तारिखका दिन नेपाल फर्किसकेका छन् ।






