अल्डरसट, यूके – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सम्मानित सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको एकता अधिवेशन आयोजना गर्न लागेको छ। उच्चस्तरीय समितिले काठमाडौंमा आगामी ३-५, २०२५ मा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेकोले त्यसैसँग मेल खाने गरी एनआरएनए यूके एकता अधिवेशन गर्न लागेको हो।
एकता अधिवेशन नेपाली समुदायका प्रमुख मुद्दाहरू विशेष गरी वंशजको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरूले सामना गरिरहेका अन्य ज्वलन्त विषयहरूमा केन्द्रित रहनेछ।
“हामी सम्मानपूर्वक पूर्व एनआरएनए अध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेलाई प्रमुख अतिथिको रूपमा बेलायतमा स्वागत गर्न चाहन्छौं । उक्त अधिवेशनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र उच्चस्तरीय समिति सदस्यहरूको उपस्थिति रहनेछ। उहाँहरुको अनुभव र योगदानले एनआरएनए अभियानको भावी दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,” एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भन्नु भयो।
यस महत्वपूर्ण भेलामा व्यापक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न यूकेमा बसोबास गर्ने सबै नेपालीलाई उपस्थित भैदिन एनआरएनए यूकेले हार्दिक अनुरोध गरेको छ ।
साथै, व्यक्तिगत तथा संस्थागत रूपमा nrnauk.org/unity-convention मार्फत एनआरएनए यूके महासभाका लागि निःशुल्क नयाँ सदस्यता दर्ता गर्न सकिनेछ।






