बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा

SHARE:

खोटाङ ३० जून २०२५ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो ।

वडा कार्यालय इन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको बाबु (चिण्डो), हिन्दू धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मगर समुदायको सङ्ख्या कम छन् । सबै जातजाति तथा समुदायको पहिचान स्थापित गर्न बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।”

नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा खोटहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिक रूपमा अनावरण गर्नुभएको हो । खुर्पेटोको प्रतिमा अनावरण कार्यक्रममा मगर समुदायको सांस्कृतिक नाच हुर्रासमेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सद्भाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पु¥याउने बताउनुभयो । “आफ्नो अधिकार मागेर होइन, लडेर लिनुपर्छ । हाम्रो भाषा, धर्म तथा संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ,” उहाँले भन्नुभयो, “आदिवासी जनजातिको पहिचान भनेको आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति हो । यसलाई सबैले जगेर्ना गर्नुपर्दछ ।”

खुर्पेटो मगर समुदायको धार्मिक एवम् सांस्कृतिक प्रतीक चिह्न भएकाले बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटोले मगर समुदायको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको नेपाल मगर सङ्घ खोटाङका अध्यक्ष युवराज मगरले बताउनुभयो । खुर्पेटोको प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङकै मूर्तिकार रोजन राईले धरानमा फाइबर प्रयोग गरेर निर्माण गर्नुभएको प्रतीक चिह्न खुर्पेटो आठ फिट अग्लो रहेको नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीले जनाएको छ । खुर्पेटो राखिएको ठाउँमा छवटा पाटा बनाएर मगर समुदायको झण्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको स्थानीय शिक्षक दलकुमार आलेमगरले जानकारी दिनुभयो ।

इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित खुर्पेटोको प्रतिमा सबैको आकर्षणको केन्द्र बनेको छ । नेपाल मगर सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष नवीन रोक्कामगरको कार्यकालमा मगर जातिको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा बनाउने निर्णय भएपछि देशभरका मगर समुदायले आ–आफ्नो क्षेत्रमा निर्माण गरिरहेका छन् ।

परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा सङ्घ, प्रदेश र स्थानीय तहका गरी रु दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको जनाइएको छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल इन्द्रेपोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा निर्माण गर्नाका साथै संरक्षणका लागि घेराबारसमेत निर्माण गरिएको छ ।

इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा रहेका प्राकृतिक पोखरीलाई मासेर ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ । स्तरोन्नति नगरेसम्म यो पोखरी जलहाँस र मलेवाको क्रिडास्थल थियो । तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी सुकेको छ ।

हरेक नयाँ वर्षमा बृहत् मेला लाग्ने इन्द्रेणीपोखरी समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा पर्दछ । सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!