म्याग्दी र बागलुङबीच सोलेडाँडा सिमाना विवाद समाधानका लागि दुई बुँदे सहमति

SHARE:

म्याग्दी ३० जून २०२५ । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सीमामा पर्ने सोलेडाँडाको विषयमा विवाद समाधानका लागि दुई बुँदे सहमति भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा भएको दुई जिल्लाका सरोकार भएकाहरूको बैठकबाट विवाद समाधानका लागि सहमति भएको हो ।

दुईवटै पालिकाले तत्काललाई सोलेडाँडामा पूर्वाधार निर्माणकार्य स्थगन गर्ने र विज्ञ समिति गठन गरेर सिमानाको टुङ्गो लगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

दुई हजार ६३० मिटर उचाइमा दुईवटै पालिकाको वडा नं ४ को सिमानामा रहेको सोलेडाँडाबाट हिमाल, सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । यहाँ तमानखोलाले सहिद स्मृति पार्क, चौतारी, लवपोखरी, धारा, शौचालयलगायत संरचना निर्माण गरिसकेको छभने मालिका गाउँपालिकाले जेठ अन्तिम सातादेखि प्रवेशद्वार बनाउन थालेपछि तमानखोलाका बासिन्दाले भत्काएपछि विवाद बढेको हो ।

असार ५ गते भएको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा भएको बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, बागलुङका जिसस प्रमुख अमर थापा, तमानखोलाका अध्यक्ष जोकलाल बुढा, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, बागलुङका प्रमुख जिल्ल अधिकारी कुमानसिङ गुरुङ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति थियो ।

मालिका गाउँपालिकाले नापी विभागको नक्साका आधारमा सोलेडाँडा म्याग्दीमा पर्ने दाबी गरिरहेको छ । यस्तै, भोगचलन गरेको आधारमा उक्त डाँडा बागलुङमा पर्ने तमानखोलाको दाबी छ । तमानखोला गाउँपालिका हुँदै सोलेडाँडातर्फ सङ्घीय र प्रदेश सरकारको रु ३० करोड बजेट साझेदारीमा योजना कार्यान्वयन सुरु हुँदैछ ।

मालिका गाउँपालिका–३ अदिभाराबाट डाँडागाउँ हँुदै सोलेडाँडा जोड्ने रु १० करोड बजेटको सडक स्तरोन्नति योजना कार्यान्वयनमा छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि सोलेडाँडा धेरैको रोजाइमा पर्न थालेको छ । उक्त स्थानबाट बागलुङ र म्याग्दीका धेरै गाउँसँगै धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!