
काठमाडौं १२ जुलाई २०२५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३५ औँ स्थापना दिवस शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच मनाइएको छ । कार्यक्रम गेसोका उपसभापति जीतबहादुर राईको अध्यक्षता र कानुनविद् डा. गोपाल शिवाकोटी ‘चिन्तन’को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीले गोरखा आन्दोलनको सुरुवातदेखि बेलायती अदालतसम्मको यात्राबारे बोले । उनले मुद्दा दर्ताका लागि आवश्यक कानुनी दस्तावेज उपलब्ध गराएर बीजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोरखाहरूको पक्षमा महत्त्वपूर्ण योगदान दिएको स्मरण गराए ।
कार्यक्रममा उपसभापति राईले नेपाल–बेलायत सरकारबीच भइरहेका वार्ता र भावी योजना प्रस्तुत गर्दै गेसोले अझ उपलब्धिमूलक संघर्ष गर्दै अघि बढ्नुपर्ने बताए । संघका सभापति कृष्णकुमार राईले बेलायतबाट पठाएको शुभकामना सन्देश वाचन गर्दै विगतका उपलब्धिहरू स्मरण गरे ।
स्थापना दिवसमा सहभागी हुन चाहँदा चाहँदै बेलायती सरकारसँगको वार्ताका कारण उपस्थित हुन नसकेको उनले जनाएका छन् । कार्यक्रमका अन्य वक्ताहरू काठमाडौं जिल्ला सभापति सुनिता गुरुङ र ललितपुर जिल्ला सभापति इन्द्रकुमारी राईले गेसोको ऐतिहासिक यात्रा र वर्तमान भूमिकाबारे धारणा राखे ।
संघका उपमहासचिव बुद्धिराज राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष सहरमान तामाङले आतिथ्य व्यवस्था मिलाएका थिए ।
कार्यवहाक सभापति राईद्वारा जारी प्रेस विज्ञप्तिमा उपलब्धिहरूलाई गेसोको साझा सम्पत्ति मानेर आगामी कार्यक्रमहरू जी-१० माध्यममार्फत अघि बढाइने प्रतिबद्धता जनाइएको छ ।






