काठमाडौं १४ जुलाई २०२५ । तमुधीं यूकेको १० लाख आर्थिक सहयोगमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–४, सिउरेनीमा सिँचाइ पोखरी तथा भेक्तेघारी–काउलेमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।
पोखरी र ट्यांक आइतबार एक कार्यक्रमका बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको परियोजनाको संयोजन गरेका नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार डण्ड गुरुङले जानकारी दिए । कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, वडा अध्यक्ष भक्तबहादुर भुजेल, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।

डण्ड गुरुङका अनुसार, योजनाअन्तर्गत ४,००० मिटर पाइप वितरण गरिएको छ । त्यस्तै, वडाबाट निर्माण सामग्री (गिट्टी) सहयोग स्वरूप उपलब्ध गराइएको थियो।
उक्त खानेपानी र सिँचाइ योजनाबाट १९ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएको छ । स्थानीय बासिन्दाहरूले नयाँ संरचनाहरूले आफ्नो दैनिकीमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्दै, तमुधीं यूके र समस्त सहयोगी पक्षलाई आभार प्रकट गरेका छन् ।
पत्रकार गुरुङले योजनालाई सफल बनाउन साथ दिने तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, गोर्खा मिडिया यूकेका प्रबन्ध निर्देशक मिलन तमु र संयोजनमा सक्रिय रहेका हिरा राना, ओम थापा, समितिका अध्यक्षहरू डिलबहादुर राना, बेगबहादुर गौदासे लगायत सबै उपभोक्ता समितिका सदस्यहरूप्रति विशेष आभार व्यक्त गरेका छन् ।






