गतांकबाट क्रमश:…
‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’ डा. योगी विकाशानन्दज्यूबाट प्रतिपादित मनोक्रान्ति दर्शन भित्रपर्ने आत्मा रुपान्तरण जीवन रुपान्तरको लागि कठोर साधनामध्येको एक भूतपस्या मानिएको छ । सन् २०१० मा ९ दिन ९ रात अँध्यारो खाडलभित्र निराहार भूतपस्या रहँदाको अनुभव क्रमश: अघि सारिएको छ । जीवन बदल्नु भनेको शरीर रुप बदलिँदैन, अनुहार बद्लिँदैन ।
जीवन बदल्नु भनेको सोच विचारमा सकारात्मक परिवर्तन ल्याउनु सक्नुपर्ने रहेछ भन्ने ज्ञान प्राप्त भयो । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा मनमा आनन्द प्राप्त गर्न सक्नु नै जिन्दगी बदल्नु रहेछ ।
शरीरलाई रोग लाग्नुको कारण खानेकुरा हो भने, मानसिकरुपमा मनमा आनन्द प्राप्त गर्न नसक्नु भनेको मनमा उत्पन्न हुने अनियन्त्रित विचारहरु नै हुन् ।
विचारहरु पनि खानेकुराकै आधारमा उत्पन्न हुँदोरहेछ । अमिलो, पिरो, नुनिलो, टर्रो खाएपछि अनुहार खुम्चिन्छ, विचार पनि त्यस्तै । उदाहरणको लागि २–४ गिलास रक्सी पिउने हो भने झगडा गर्ने विचार फुर्न थाल्छ । यी कुराहरु शतप्रतिशत सत्य नहोला तर अर्धसत्य त पक्का हो । विषय भूतपस्यातिर नै । ९ दिन ९ रात अँध्यारो खाडलभित्र भूतपस्या अवधिभर खाना नखाएपछि विचार फुर्न कम भयो । मनमा आनन्द प्राप्त गर्दा मनको तरङ्गहरु प्रेम, भावना, कल्पना, भविष्यको सपनामा चुर्लुम्म डुब्दोरहेछ ।
आफ्नो अनुभवलाई उदाहरणसहित पस्किनु पर्दा खेतबारीमा बालीनाली उत्पादन गर्न अगाडि त्यहाँका नचाहिँदो झारपात, काँडावाल, बोटबिरुवालाई उखेलेर सुकेपछि आगोले जलाइन्छ । त्यसपछि बल्ल खनजोत गरी नयाँ बाली लगाई उत्पादन गरिन्छ ।
त्यसरी नै हाम्रो मनमष्तिष्कमा पनि उब्जिएका नचाहिँदो र नकारात्मक सोच विचारहरुलाई योग, ध्यान, साधनाको माध्यमबाट नष्ट गरी सकारात्मक सोचविचारमा परिवर्तन ल्याउनु सक्नुका साथै मनलाई प्रेम भावना कल्पना र करुणामा बदल्न सकियो भने आनन्द प्राप्त गर्न सकिँदोरहेछ भन्ने ज्ञान प्राप्त भयो । भूतपस्याबाट तपस्या तोडेर खाडल बाहिर निस्कँदा शारीरिक रुपमा केही कमजोर महसुस भए तापनि मानसिक रुपमा मन हल्का चङ्गाजस्तै उडिरहेको थियो ।
३० मिनेट जति आफ्नो भूतपस्याका अनुभवहरु सजिलै सेयरिङ्ग गर्न कुनै कठिनाई बेहोर्नु परेको थिएन । योग शक्तिबाट शरीर र मन उर्जावान् भएको थियो ।






