ब्रिटिश गोर्खा र उनीहरूका सन्ततिको ‘नेपाली वंशजको नागरिकता निरन्तरता’ विषयमा सीएनसीबीजीको विशेष कार्यक्रम सम्पन्न

SHARE:

दल बुढाथोकी, बेलायत ।

लन्डन, २२ नोभेम्बर २०२६ । ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरता, ऐतिहासिक पहिचान र अधिकार संरक्षणका लागि क्रियाशील ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान (सिएनसिबिजी) को आयोजनामा शनिबार, २१ नोभेम्बर २०२६ मा लन्डनको प्लमस्टेडस्थित मगर भवनमा विशेष जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सीएनसीबीजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, भूतपूर्व गोर्खा सैनिक, महिला, समाजसेवी तथा अभियानका शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव जीतबहादुर घर्ती मगरले गर्नुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष शोभराज गुरुङले स्वागत मन्तव्य राख्दै संस्थाको परिचय, अभियानको पृष्ठभूमि, उद्देश्य तथा ब्रिटिश गोर्खा र उनीहरूका सन्ततिको ‘नेपाली वंशजको नागरिकता निरन्तरता’ को महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले नागरिकता निरन्तरता केवल कानुनी दस्तावेजको विषय नभई ब्रिटिश गोर्खाहरूको इतिहास, मातृभूमिसँगको सम्बन्ध, नेपाली पहिचान र भावी पुस्ताको भविष्यसँग जोडिएको महत्त्वपूर्ण सवाल भएको उल्लेख गर्नुभयो। अभियानलाई निष्कर्षमा पुर्‍याउन विभिन्न नेपाली संघसंस्था, गोर्खा समुदाय र शुभचिन्तकहरूको एकता तथा सहकार्य अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभयो।

अर्का उपाध्यक्ष दलबहादुर बुढाथोकीले आफ्नो नेपाल भ्रमणका क्रममा ललितपुरको कुपन्डोल हाइटस्थित होटेल हिमालयमा आयोजित संगोष्ठी तथा अन्तरक्रिया, सरकारी एवं सरोकारवाला निकायसँग भएका छलफल र संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ‘काठमाडौं घोषणापत्र २०८३’ बारे विस्तृत जानकारी गराउनुभयो। उहाँले सो घोषणापत्रपछिका चुनौती र आगामी कार्यदिशाबारे चर्चा गर्दै नेपाल सरकार, राजनीतिक नेतृत्व तथा सम्बन्धित निकायसँग निरन्तर संवाद र समन्वय गरी नागरिकता निरन्तरताको मागलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

अन्तरक्रियाका क्रममा ब्रिटिश गोर्खा नेपाली एक्स-सर्भिसमेन एसोसिएसन (बिजिनेसा युके) का अध्यक्ष केशबहादुर गुरुङ, ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसन (जिजीइसा) का सचिव गमबहादुर गुरुङ, मगर संघ यूके प्लमस्टेड शाखाका पूर्वअध्यक्ष धन थापा तथा अध्यक्ष खर्कबहादुर पुन मगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले अभियानको सराहना गर्दै निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। वक्ताहरूले नागरिकता निरन्तरताको विषय वर्तमान पुस्तामा मात्र सीमित नभई भावी सन्ततिको पहिचान र अधिकारसँग समेत प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो।

त्यसैगरी, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) साउथ इस्ट लन्डन, प्लमस्टेड शाखाका अध्यक्ष गमर थापाले गोर्खा अधिकार आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, संस्थापक पदमबहादुर गुरुङको योगदान तथा पेन्सनसम्बन्धी संघर्ष र उपलब्धिहरू स्मरण गराउनुभयो।

कार्यक्रममा साउथ इस्ट लन्डन लेडिज मगर एसोसिएसन (सेलमा युके) की अध्यक्ष चन्द्रकला थापाले ब्रिटिश गोर्खाहरूको इतिहास, योगदान, पहिचान र नागरिकता निरन्तरताको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्तै, सेलमा युकेकी सल्लाहकार देवी आलेले आफू नागरिकता निरन्तरताको कार्यक्रममा सहभागी हुन लागेको थाहा पाएपछि आफ्ना छोराछोरीले खुसी व्यक्त गरेको प्रेरणादायी अनुभव सुनाउनुभयो। उहाँले सम्पूर्ण अभिभावकलाई आफ्ना सन्तानसँग गोर्खाहरूको इतिहास, योगदान र नेपाली पहिचानबारे संवाद गर्न तथा युवा पुस्तालाई अभियानमा जोड्न आग्रह गर्नुभयो।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागितालाई अभियानप्रतिको संस्थागत सद्भाव र ऐक्यबद्धताको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ। प्लमस्टेडमा सम्पन्न यस कार्यक्रमले बेलायतका अन्य सहर तथा नेपाली समुदायमा पनि यस्तै जनचेतनामूलक अन्तरक्रिया आयोजना गर्न सकारात्मक प्रेरणा दिएको छ। कार्यक्रमबाट अभियानलाई प्रभावकारी बनाउन नयाँ पुस्ताको सहभागिता, संघसंस्थाबीच समन्वय, फरक विचारप्रति सम्मान तथा नेपालका सम्बन्धित निकायसँग शान्तिपूर्ण र निरन्तर संवादलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह भएको छ।

अन्त्यमा, सीएनसीबीजीका अध्यक्ष थर्क रानाले आत्मीय स्वागत, उत्कृष्ट व्यवस्थापन र स्वादिष्ट नेपाली खानपानका लागि मगर संघ प्लमस्टेड, साउथ इस्ट लन्डन लेडिज मगर एसोसिएसन (सेलमा युके) का महिला दिदीबहिनी तथा स्वयंसेवकहरू र हल प्रायोजन गरिदिनुहुने महादेव थापाप्रति संस्थाका तर्फबाट विशेष आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!