एनआरएनएले सन् २०२७ जनवरीमा ‘एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’ आयोजना गर्ने

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ।

आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो। ‘कनेक्ट | एक्सप्लोर | सेप’ (Connect | Explore | Shape) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले शिक्षा, व्यापार, प्रविधि र अनुसन्धान लगायतका विविध क्षेत्रमा स्थापित युवा पुस्ताको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा परिचालन गर्ने लक्ष्य राखेको छ।

“दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु सम्मेलनको प्राथमिकता रहनेछ,” अध्यक्ष डा. शर्माले भन्नुभयो।

सम्मेलनकी संयोजक एवं एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले विश्वभर छरिएर रहेका दोस्रो पुस्ताका नेपाली युवाहरूबीच सञ्जाल विस्तार गर्न, अनुभव साटासाट गर्न र मातृभूमिप्रतिको भावनात्मक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन एक साझा मञ्च प्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो।
सन् २०२७ जनवरी ३ मा आयोजना हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व र व्यावसायिक व्यक्तित्वहरूको सहभागितामा पाँचवटा मुख्य विषयगत सत्रहरू सञ्चालन हुनेछन्:
१. संस्कृति र पहिचान: नेपाली भाषा, सम्पदा र पुस्तान्तरणमा केन्द्रित सत्र।

२. सीप र ज्ञान हस्तान्तरण: प्रवासी युवाहरूको ज्ञान र अनुभवलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र परोपकारी क्षेत्रमा जोड्ने उपायबारे छलफल।

३. नीतिगत तथा कानुनी संरचना: गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमतिपत्र (लाइसेन्सिङ), नेपालमा व्यवसाय सञ्चालनका चुनौती र संस्थागत सहभागिताका विषयमा समीक्षा।

४. उद्यमशीलता र लगानी: सीमापार व्यावसायिक सहकार्य, लगानी र व्यवसाय विस्तारका अवसरहरूको खोजी।

५. युवा नेतृत्व र संस्थागत सुधार: दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल सुदृढीकरण तथा युवाहरूको अपेक्षाअनुरूप एनआरएनएभित्र आवश्यक नीतिगत एवं विधानगत सुधारबारे विमर्श।

मुख्य सम्मेलनसँगै नेपाल पर्यटन बोर्डसँगको सम्भावित रणनीतिक सहकार्यमा सहभागीहरूलाई नेपालको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र संस्थागत पहिचानको प्रत्यक्ष अनुभव गराउन छ दिने ‘डिस्कभर नेपाल’ कार्यक्रमसमेत तय गरिएको छ:

जनवरी २ (काठमाडौँ): स्वागत तथा उद्घाटन समारोह र अन्तरराष्ट्रिय सञ्जाल विस्तार (नेटवर्किङ) ।

जनवरी ३ (काठमाडौँ): मुख्य विश्व सम्मेलन र भावी सहकार्यका लागि कार्ययोजना निर्माण सत्र।

जनवरी ४ (काठमाडौँ उपत्यका): काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार स्क्वायर र परम्परागत हस्तकला केन्द्रहरूको अवलोकन भ्रमण।

जनवरी ५ (काठमाडौँ): लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थागत भ्रमण तथा अन्तरक्रियात्मक सत्र।

जनवरी ६–७ (धुलिखेल र काठमाडौँ): धुलिखेलमा दुई दिने ‘हिमालयन एस्केप’ (Himalayan Escape) कार्यक्रमअन्तर्गत योग, ध्यान, प्रकृति अवलोकन र दोस्रो पुस्ताको भावी दिशा तय गर्ने ‘एक्सन रोडम्याप’ निर्माण कार्यशाला। जनवरी ७ को साँझ काठमाडौँमा साङ्गीतिक कार्यक्रम तथा रात्रिभोजसँगै सम्मेलन समापन हुनेछ।
जस्मिन सैयदले सञ्चालन गर्नुभएको उक्त पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी. थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले सम्मेलनका विभिन्न सत्रहरूबारे प्रस्तुति दिनुभएको थियो।

दोस्रो पुस्तालाई राष्ट्रिय समृद्धिको महत्वपूर्ण स्रोतका रूपमा लिँदै एनआरएनएले यस सम्मेलनलाई भव्य रूपमा सफल बनाउन नेपाल सरकार, सम्बन्धित निकाय, सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरु, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!