एटा संवाददाता
अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटी यूकेले दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कमिटीमा सल्लाहकार मेजर कुल थापा, पूर्वअध्यक्ष रोहित गुरुङ, सल्लाहकार पदम राई, निवर्तमान अध्यक्ष ओम थापा र सल्लाहकार वाचस्पति रेग्मी सदस्य रहेका छन् ।
गत आइतबार ९ जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको कार्यसमितिको बैठकले सो कमिटी गठन गरेको हो । बैठकले गत शनिबार ८ जुनका दिन अल्डरसटमा सम्पन्न ‘भिक्टोरिया डे’ कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका कार्यसमिति, सल्लाहकार, सहभागी व्यक्ति र संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, बैठकमा अध्यक्ष जीव बेल्वासे, वरिष्ठ उपाध्यक्ष रामधन राई, क्याप्टेन राजु गुरुङ र निवर्तमान अध्यक्ष ओम थापाले विभिन्न सल्लाह र सुझावहरु दिएका थिए । कम्युनिटीले यसअघि नै आउने २१ जुलाईका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा अधिवेशन गर्ने निर्णय गरिसकेको छ । साथै, १९ जुलाई भित्र सदस्यता बनेकाहरुले मात्र निर्वाचनमा भाग लिन पाउने छन् भने सो भन्दा पछि सदस्यता भएकाहरुले अहिलेको निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कम्युनिटीले जनाएको छ ।
सन् २००३ सालमा स्थापना भएको कम्युनिटीको राज सुब्बा, सुर्जे (रामचन्द्र) गुरुङ, रोहित गुरुङ, मधुकर गुरुङ, टेकेन्द्र दल देवान, ओम थापाले अध्यक्षता गरिसकेका छन् भने अहिले जीव बेल्वासले अध्यक्षता गरिरहेका छन् । उनको कार्यकाल आउँदो अधिवेशनमा सम्पन्न हुँदैछ ।
ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासेको अध्यक्षतामा बसेको बैठकलाई महासचिव मान गुरुङले संचालन गरेका थिए । बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।






