यस्ता छन् एनआरएनएको ११८औँ आईसीसी बैठकका निर्णय [विज्ञप्तिसहित]

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले विधान संशोधन सुझाव समिति र अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ।

सन् २०२६ नोभेम्बर २२ (मंसिर ६) मा संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न सांगठनिक, संस्थागत तथा समसामयिक विषयमा छलफल गर्दै उक्त निर्णय गरेको हो। बैठकको सञ्चालन महासचिव डा. चिरञ्जीवी खड्काले गरेका थिए। बैठकमा विश्वभरका आईसीसी पदाधिकारी, सदस्य, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का आमन्त्रित अध्यक्षहरूको सहभागिता थियो।

बैठकले रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने तथा सम्बन्धित निकाय, साझेदार र सरोकारवालासँग समन्वय र सहकार्य अघि बढाउने निर्णय गरेको छ। पुनर्निर्माण योजनाको प्रगति, प्राप्त सुझाव र आगामी कार्यदिशाबारे पनि छलफल गरिएको थियो।

त्यस्तै, सन् २०२७ जनवरी ६ मा भर्चुअल माध्यमबाट आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीसँगै संघको विधान संशोधन तथा परिमार्जनका लागि महासचिव डा. खड्काको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गरिएको छ।

समितिको सल्लाहकारमा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ, पूर्वअध्यक्षद्वय विनोद कुँवर र आरके शर्मा, पूर्वमहासचिवद्वय बाबुराम लामा र गौरीराज जोशी तथा पूर्वउपमहासचिव ओम गुरुङ रहेका छन्।

समितिको सदस्यमा उपमहासचिवहरू दीपक गौतम, पारसमणि पोखरेल, स्वतन्त्रप्रताप शाह, अनुजा प्रधान, राजेन्द्र अर्याल, मोहम्मद मुक्तदा मुसलमान, वेदराज बस्नेत, दिनेशकुमार घिमिरे, विनोद कार्की, प्रकाश धमला, कृष्ण पोखरेल, नवराज रोस्यारा र दीपक ओली तथा पूर्वउपमहासचिव नारायण काफ्ले रहेका छन्।

संघको संस्थागत मर्यादा, अनुशासन तथा आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बैठकले पाँच सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ। समितिमा पूर्वमहासचिव रतन झा, पूर्वउपाध्यक्षहरू सपिला राज भण्डारी र मन केसी, पूर्वउपमहासचिव डा. देवी बस्नेत तथा पूर्वउपाध्यक्ष डा. देवकाजी डंगोल रहेका छन्।

बैठकले आगामी कार्यक्रम तथा सम्मेलनहरूको तयारीलाई तीव्रता दिने निर्णयसमेत गरेको छ। जसअनुसार डिसेम्बर २ देखि १५ सम्म सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको सहभागिता र सहयोग अघि बढाइनेछ।

त्यस्तै, डिसेम्बर ४ र ५ मा जनकपुरमा आयोजना हुने छैटौँ गैरआवासीय नेपाली स्वास्थ्य सम्मेलन तथा डिसेम्बर ११ र १२ मा हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन (प्रथम गैरआवासीय नेपाली विश्व श्रम सम्मेलन) लाई व्यवस्थित बनाउन आवश्यक समन्वय र व्यवस्थापन गर्ने निर्णय भएको छ।

यसैगरी, सन् २०२७ जनवरी २ देखि ४ सम्म आयोजना हुने प्रथम गैरआवासीय नेपाली दोस्रो पुस्ताको विश्व सम्मेलन, प्रथम गैरआवासीय नेपाली महिला विश्व सम्मेलन तथा चौथो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलनको तयारीलाई प्रभावकारी बनाइने भएको छ।

बैठकले जनवरी ७ मा दोस्रो नेपाली साहित्य गोष्ठी तथा सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ। सबै सम्मेलन तथा कार्यक्रम सफल बनाउन प्रायोजनका लागि अपिल गर्ने, विश्वभर रहेका गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि आह्वान गर्ने र आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!