एटा संवाददाता
लन्डन । बेलायत भ्रमणमा रहेको पत्रकार दीपेन्द्र श्रेष्ठ, केवश पाठक तथा सावित्री पाठक दुई हप्ते भ्रमणपश्चात् गत शुक्रबार ७ जुन बेलुकी नेपाल पर्केका छन् । उनीहरुलाई बिदाइ गर्न तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, सदस्य कोल गुरुङ, सदस्य टंक मार्टिङ्ग, सदस्य तथा फोटो पत्रकार मिलन तमु हिथ्रो विमानस्थल पुगेका थिए ।
त्यस्तै, सहारा यूके निवर्तमान अध्यक्ष मिन (साइँला) गुरुङ, महासचिव धनु थकाली, कोषाध्यक्ष शारदा गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ तथा उमा गुरुङ र गोर्खा हेरिटेजका राम गुरुङसमेत विमानस्थल पुगी उनीहरुलाई बिदाइ गरेका थिए । तमुधिं यूकेद्वारा आयोजित गोर्खा कप फुटबल प्रतियोगिताको अवसरमा बेलायत आएका पत्रकार श्रेष्ठ र पाठकले बेलायतमा विभिन्न स्थानको भ्रमण गरे । उनीहरु तमुधिं यूके, सहारा यूके र गोर्खा हेरिटेज ट्रष्टको निम्तामा आएका थिए ।
पोखराका श्रोताहरुको ढुकढुकी रेडियो अन्नपूर्ण ९३.४ मेघाहर्जका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक तथा उनकी धर्मपत्नी सावित्री पाठकसँग बेलायतमा रहेका धेरैजसो पोखरेलीहरुले भेटघाट गरेका थिए ।
साथै, भ्रमणको क्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेका पत्रकार श्रेष्ठले अल्डरसट र तमु समाज यूके लन्डनमा एकदिने ‘भाषक कला तथा नेतृत्व विकास’ प्रशिक्षण दिएका थिए ।
पत्रकारद्वयले विमानस्थल बिदाइको क्रममा आफूहरुलाई बेलायतमा गरेको स्वागत, सम्मान र अवलोकनका लागि विभिन्न व्यक्ति र संघसंस्थालाई हृदयदेखि नै धन्यवाद दिए । बेलायतमा उनीहरुलाई तमुधिं यूके, सहारा यूके, गोर्खा हेरिटेज ट्रष्ट, तमु प्ये ल्हु संघ यूके, पोखरेली मञ्च यूके, रामबजार सोसाईटी यूके लगायत विभिन्न संघसंस्थाले स्वागत तथा सम्मानका साथै विभिन्न सहरको भ्रमण समेत गराएका थिए ।






