एटा संवाददाता
लन्डन । बेलायतको अल्डरसटमा सम्पन्न ‘भिक्टोरिया डे’ मा नेपालीहरुले सहभागिता जनाएका छन् । गत शनिबार ८ जुनका दिन सम्पन्न भिक्टोरिया डेमा ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) लगायत विभिन्न संघसंस्थाले भाग लिए ।
करिब ६ हजार जनाको सहभागिता रहेको परेडमा जीआरएनसी, नवयुवा, प्रथम नौमती बाजा गुल्मी यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज यूके, तमुधिं रस्मोर सर्रे इकाई, किरात राई यायोक्खा रस्मोर शाखा, मगर संघ यूके युएचएसबी शाखा, सुनुवार समाजसेवा यूके, किरात याक्थुङ चुम्लुङ रस्मोर शाखा, गोर्खा आमा समूह (एम्पायर), मद्दत समूह, गोरखा आमा समूह अल्डरसट, गेसो रस्मोर शाखा लगायत व्यक्ति, समाजसेवी, संघसंस्था, उद्यमी र व्यापारीहरुको सहभागीता थियो ।
अल्डरसट र फार्नबोरो सहरबाट आएको विभिन्न व्यक्ति र संघसंस्थाहरुले आ–आफ्नो भेषभूषा, तुल र व्यानारका साथ भाग लिएका थिए । स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय काउन्सिल, फायर ब्रिगेड, पुराना सवारी साधनहरु, घोडा, बाजा, एम्बुलेन्स लगायत स्थानीय काउसिन्सलका विभिन्न सेवा निकायको समेत सहभागिता थियो । अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको परेड अल्डरसट बजारको परिक्रमा गरी ४० मिनेटपश्चात् पुन: प्रिन्सेस हलमा पुगेर सम्पन्न भएको थियो ।
ब्रिटिस आर्मीको होमटाउनको रुपमा परिचित अल्डरसटमा प्रत्येक वर्ष जुन महिनामा ‘भिक्टोरिया डे’ मनाउँदै आएको छ । स्थानीय रसमोरवासीहरु बेलायती महारानीप्रति अत्यन्त श्रद्धा, सम्मान र आदार गर्ने भएकोले पनि बेलायती महारानीको जन्मोत्सवको रुपमा मनाउँदै आएको बुझिएको ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे बताउँछन् । उनले भने, ‘पहिला प्रत्येक दुई वर्षमा एकपटक मनाउने चलन थियो, जब नेपालीहरुले पनि भाग लिन थालेपछि प्रत्येक वर्ष मनाउन थालिएको हो ।’ र, यसले स्थानीय समुदायसँग इन्टीग्रेसनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष बेल्वासेले बताए ।
सो दिनलाई स्थानीय संघसंस्थाहरुबीच भेटघाट गर्ने थलोको रुपमा लिइन्छ । त्यस्तै, स्थानीय व्यापार प्रवद्र्धनको अवसरको रुपमा समेत लिँदै आएको धेरैको विश्वास छ ।
स्मरण रहोस्, बेलायती महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिइन् । उनको कार्यकालमा बेलायतको विकास निर्माणले द्रुतगति लिएको थियो । उनकै शासनकालमा बेलायतको उद्योगधन्दा, रेलमार्ग, बाटो, पुल, विज्ञान लगायतको क्षेत्रमा व्यापक रुपमा विकास भएको इतिहास छ ।






