एटा संवाददाता
अल्डरसट । एशियन महिला एशोसिएसन यूके (आमा) को अध्यक्षमा विभा गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । गत ७ जुनका दिन सम्पन्न आमाको अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा कल्पना जिना गुरुङ, सचिवमा सिर्जना पौडेल, सहसचिवमा कल्पना चेम्जोङ्ग, कोषाध्यक्षमा दुर्गा पुन, सहकोषाध्यक्षमा विश्वलक्ष्मी थापा र मिडिया कोर्डिनेटरमा मञ्जु सापकोटा निर्वाचित भएकी छन् ।
त्यस्तै, अञ्जु थापा, कल्पना गुरुङ, रमा बानियाँ, लक्ष्मी कुवँर, निमा क्षेत्री, पुष्पा मेन्याङ्गबो र सञ्जु रायमाझी सदस्यमा निर्विरोध चयन भएकी छन् । संस्थापक अध्यक्ष मिया केसी, निवर्तमान अध्यक्ष अमिता बेल्वासे, रचना थापा, अम्बिका खड्का, रिता क्षेत्री र शान्ति थापा कुँवर भने आमाको सल्लाहकारमा चयन भएकी छन् । कार्यक्रममा आमाकी संस्थापक अध्यक्ष मिया केसी, सल्लाहकार शान्ति थापा कुँवर, रिता क्षेत्री लगायतको विशेष उपस्थिति रहेको थियो । ‘महिलाद्वारा महिलाको लागि’ मूल नाराका साथ महिलाहरुलाई सशक्तिकरण र आत्मनिर्भर बनाउने मूल उद्देश्यका साथ सन् २००६ मा स्थापना भएको आमाले असहाय व्यक्ति र च्यारिटी संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।
अल्डरसटमा सम्पन्न साधारणसभालाई आमा अध्यक्ष अमिता बेल्वासेले अध्यक्षतामा गरेकी थिइन् भने सचिव कल्पना जिना गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् । हालसम्म आमाले रक्षा नेपाल, माइती नेपाल, धुर्मुस सुन्तली फाउन्डेशन, रवि लामिछाने, मुस्कान सेवा, एनआरएनए यूकेमार्फत वृद्धाआश्रमलाई सहयोग, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर, वुद्धिष्ट कम्युनिटी सेन्टर, क्यान्सर रिसर्च सेन्टर यूके लगायत च्यारिटी संस्थाहरुलाई सहयोग गरिसकेको आमाले जनाएको छ । त्यस्तै, आमाले महिलाहरुको महान् पर्व तीज, रेस फर लाईफ र अन्तर्राष्ट्रिय नारी दिवसजस्ता कार्यक्रमलाई भव्य रुपमा मनाउँदै आएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।






