एटा संवाददाता
अल्डरसट । लमजुङ जिल्लाको साविक १८ वटा गाविसबाट बेलायत आइबसेका नेपालीहरुको साझा संस्था ईलमपोखरी समाज यूकेले समर भेटघाट कार्यक्रम आयोजना गरेको छ । गत शनिबार १५ जुनका दिन अल्डरसटस्थित अल्डरउड स्कुलमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा लमजुङ समाज यूके अध्यक्ष विश्वजङ्ग गुरुङले प्रमुख अतिथिको आशनबाट बोल्दै, ईलमपोखरी समाजको सक्रिय भूमिकाकै कारण नेपाली मेलामा विजयी हासील गरेको बताउँदै आउने नेपाली मेलामा पनि सक्रिय सहभागी भइदिनहुन अनुरोध गरे । साथै, उनले लमजुङ समाज यूकेले जुलाईमा आयोजना गर्न लागेको भेटघाट कार्यक्रममा समेत सहभागी भइदिन सबैलाई अनुरोध गरे । त्यस्तै, उनले लमजुङ समाज यूकेका सल्लाहकार शेरबहादुर सुनार एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिन लागेको र उनको उम्मेदवारीलाई सहयोग गर्न सबैलाई आव्हान गरे । साथै, उनले एनआरएनए यूकेको सदस्यता लिई सकेकाहरुले नवीकरण र नलिएकाहरुले ३१ जुलाईभित्र नयाँ सदस्यता लिनसमेत सुझाव दिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शेरबहादुर सुनारले आफू एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउँदै शारीरिक रुपमा आफू फीट एण्ड फाईन छ वा छैन, परीक्षणका लागि पनि छेलो प्रतियोगितामा भाग लिएको जनाए । उनले आफू यसअघि सबैको मायाकै कारण एनआरएनए यूकेको उपाध्यक्षमा विजयी भएको बताए । साथै, उनले, ‘सन् २००३ देखि जुन योगदान गर्दै आएँ, त्यसको एकफेरा न्यायको निम्ति म गैरआवासीय नेपाली संघको अध्यक्षको प्रत्यासी भएको छु’ भन्दै सबैको साथ र सहयोगका लागि अपील गरे ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णराज गुरुङले पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका समाजका सल्लाहकार, सिंगो कार्यसमिति, नेपालबाट आएका कलाकार, स्थानीय नेपाली कलाकार, तमु सांस्कृतिक कलाकार लगायतलाई धन्यवाद दिए । साथै, उनले एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष शेरबहादुर सुनारले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने भएकाले उनलाई ईलमपोखरी समाज सबै मिलेर विजयी बनाउनु पर्नेमा जोड दिए ।
लमजुङ समाज यूके अध्यक्ष विश्वजङ्ग गुरुङ, ईलमपोखरी समाज यूके संस्थापक अध्यक्ष मोहन गुरुङ, समाजका अध्यक्ष पूर्णराज गुरुङ, गोर्खाली समाज यूके अध्यक्ष कर्ण दर्लामी र लमजुङ समाज यूके आमा समूह अध्यक्ष लक्ष्मी गुरुङले संयुक्तरुपमा दीपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा लमजुङकै झझल्को दिने छेलो हान्ने, पुरुष फुटबल र महिला भलिबल आयोजना गरिएको थियो ।
त्यस्तै, कार्यक्रमको दोस्रो चरणमा लमजुङ जिल्लाको परिचय दिने बाह्रमासे घाटु र झ्याउरे नृत्य प्रस्तुत गरिएको कार्यक्रममा तारा, श्रेया, श्रृति, हस्त, सविता, गजबहादुर, कशी, हरि, मञ्जु, कविता लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, कुमार गुरुङको समूहले सांगीतिक प्रस्तुति दिइएको कार्यक्रममा नेपालबाट आएका गायक सञ्जय गुरुङ र गायिका भूमिका राईले विभिन्न गीत प्रस्तुतिका साथ दोहोरीसमेत गाएका थिए । सांगीतिक कार्यक्रमलाई सल्लाहकार दलबहादुर गुरुङले संयोजन गरेका थिए भने सविता गुरुङ र अनुप गुरुङले संचालन गरेका थिए ।
राफल ड्र समेत खेलाइएको कार्यक्रममा पहिलो विजेतालाई आधा तोला सुनको उपहार र अरु ७ जना विजयीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । राफल ड्र पुरस्कारको समाजका अग्रजहरुले प्रायोजन गरेका थिए ।
हालै नयाँ सदस्यता लिएका सदस्यहरुलाई स्वागत गरिएको कार्यक्रममा महिला भलिबल र पुरुष फुटबल टिमका विजेता तथा उपविजेता खेलाडीहरुलाई ट्रफी लगाई बधाई दिएका थिए ।
त्यस्तै, छेलो मुख्य खेलतर्फ भूपाल गुरुङ विजेता बने भने तिलक गुरुङ उपविजेता बने । त्यस्तै भेट्रानतर्फ गमबहादुर गुरुङ विजयी बने भने एनआरएनए उपाध्यक्ष शेर सुनार उपविजेता भए ।
अफिसियल भिमराज गुरुङ र म्यान अफ दि म्याच अलान गुरुङलाई समेत बधाई ज्ञापन गरिएको थियो ।
ईलमपोखरी समाज यूके अध्यक्ष पूर्णराज गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा उपाध्यक्ष जीत गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सचिव परशु गुरुङले कार्यक्रम संचालन गरेका थिए ।






