लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको आयोजक तमुधिं यूकेले समीक्षा गरेको छ ।
गत आइतबार १६ जुनका दिन तमुधिं मिचेटमा बसेको कार्यसमिति बैठकले समीक्षा गरेको हो । गत २६ मे का दिन अल्डरसटस्थित क्विन्स एभिन्यूमा आयोजना गरिएको १७ औं गोर्खा कपमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै गोर्खा कपलाई अझ स्तरीय बनाउन सहभागीहरुले विभिन्न सल्लाह र सुझाव दिएका थिए । बैठकमा तमुधिं यूके खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्याप्टेन पिताम्बर गुरुङले गोर्खा कप सम्पन्न बारे पावर पोइन्ट प्रिजेन्टेशन दिएका थिए । त्यस्तै, उपाध्यक्ष एवं नेपाली मेलाका संयोजक जुमकाजी गुरुङले आगामी २५ अगस्टका दिन सम्पन्न हुन लागेको नेपाली मेलाको बारेको आवश्यक तयारीबारे पावर पोइन्ट प्रिजेन्टेशन दिएका थिए ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । बैठकमा तमुधिं यूके निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार, आजीवन, आमा समूह, युवा र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।






