एटा संवाददाता
प्रधानमन्त्री केपी ओलीले बेलायतवासी नेपालीहरुलाई आफ्नो कारोबार टुंग्याएर सकेसम्म छिटो स्वदेश फर्कन आग्रह गरेका छन् ।
बुधबार १२ जुन बिहान नेपाली राजदूतावास लन्डनले प्रधानमन्त्री ओलीको स्वागतार्थ आयोजित विशेष समारोहमा ज्ञान र धन आर्जन गर्न विदेश आएका नेपालीहरुलाई त्यस्तो अनुरोध गरेका हुन् । उनले बेलायत सबैभन्दा पुरानो औपचारिक मित्र भएको र सो मित्रताको गाँठो अहिले २०३ वर्ष पुगेको उल्लेख गरे ।
नेपाल र बेलायतको औपचारिक सम्बन्ध सन् १८१६ बाट सुरु भएको भए तापनि नेपालीहरु ब्रिटिस गोर्खा सैनिकमा सन् १८१५ बाट नै भर्ती भएको जनाए । साथै, उनले नेपालीहरु वीर छन् भन्ने कुरा नेपालीहरु ब्रिटिस गोर्खामा आएपछि दुनियाँले थाह पाएको सन्दर्भ कोट्याउँदै, ब्रिटिस गोर्खाले नेपालको अन्तर्राष्ट्रिय छवि बनाएको बताए ।
बिहान ९ बजे सुरु भएको समारोहमा प्रधानमन्त्री ओलीले, ‘ब्रिटिस गोर्खा नेपाल र बेलायतको सम्बन्ध अत्यन्त पुरानो रहेको जनाउँदै अहिले दुई देशबीचको सम्बन्ध बहुआयमिक ढंगले अघि बढेको’ बताए ।
उनले ‘बेलायत अप्ठ्यारो पर्दाको साथी हो’ भन्दै, सन् २०१५ नेपालमा भूकम्प गएको अवस्थामा ब्रिटेनले पुर्याएको सहयोगको प्रशंसा गरे ।
नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले संचालन गरेको कार्यक्रममा एशिया एण्ड प्यासिफिक राज्यमन्त्री मार्क फिल्डले बेलायत र नेपालबीचको सम्बन्ध र सहयोगबारे बोले । त्यस्तै, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत मन्तव्य दिँदै नेपाल र बेलायतको ऐतिहासिक सम्बन्धबारे उल्लेख गरे ।
करिब ६०० जना उपस्थिति रहेको समारोहमा ब्रिगेड अफ गोर्खाजको व्याण्ड, सयपत्री नेपाली सांस्कृतिक समूह र ब्रिटिस गोर्खाली सेनाहरुले खुकुरी डान्ससमेत प्रस्तुत् गरेका थिए । ३ दिन बेलायत भ्रमणमा आएका प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरिजा मे, बेलायतका राजकुमार ह्यारी, ब्रिगेड अफ गोर्खाजका अधिकारी, भूतपूर्व गोर्खाजका अभियन्ताहरु, गैरआवासीय नेपाली संघ लगायतसँग छुट्टछुट्टै भेटघाट गरेका थिए ।






