एटा संवाददाता
लन्डन । पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल चौंथो नेपाल कप टीट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन भएको छ ।
गत आइतबार १४ जुलाईका दिन रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा दुई दिने खेलको सुरुआत भएको हो । फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्को मुख्य प्रायोजनमा आयोजित खेल आउने आइतबार २१ जुलाईका दिन सोही क्लबमा सेमीफाइनल र फाइनल खेल सम्पन्न हुने छ । खेललाई मञ्चका अध्यक्ष लगायत समाजसेवीले वेटिङ्ग गर्दै उद्घाटन
गरेका थिए ।
नकआउट सिस्टमले खेलाइएको सो खेलका लागि ८ वटा टिमले भाग लिएका थिए । खेलमा खुकुरी क्रिकेट टिम तथा रमाइलो क्रिकेट क्लब र क्विन्स गोर्खा सिग्नल क्रिकेट क्लब तथा मिडल्यान्ड क्रिकेट क्लव सेमीफाइनलमा पुग्न सफल भएका छन् । सो खेलको पहिलो बिजेता क्लबलाई ८०० पाउन्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले, दोस्रो पुरस्कार नगद ५०० पाउन्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गरेका छन् ।
प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउन्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गरेका छन् ।
पोखरेली मञ्च यूकेले चौंथो पटक आयोजना गर्न लागेको टुर्नामेन्टमा राफल ड्र समेत खेलाइने जनाए । राफल ड्र विजेतालाई एकतोला सुन उपहारसमेत राखिएको आयोजकले जनाएको छ । टिम दर्ता शुल्क १५० पाउन्ड उठाइएको टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआईपीतर्फ भने खानासहित २५ पाउन्ड तोकिएको छ । स्मरण होस्, मञ्चका संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर पुन तथा उनको बहिनी सरिता पुनको परिवारले आप्mनो ममतामयी आमा भद्रशिला पुनको सम्झनामा सो क्रिकेट खेलका विजेता टिमलाई रनिङ्ग शिल्डको प्रायोजन गरेका छन् ।






