काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा अवरोध पुर्याउने आदिवासी जनजातिका नेता, कार्यकर्ताहरु विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । परीक्षास्थलमा प्रवेश गरेर शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर परीक्षा चलिरहेको लोकसेवा आयोगले जनाएको छ । शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि निर्वाध रूपमा परीक्षा भएको आयोगले दाबी गरेको छ ।

यसक्रममा शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यातेका थिए । प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए । तर, लोक सेवा आयोग स्रोतले भने प्रश्नपत्र नच्यातिएको दाबी गरेको छ । प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको उसको भनाइ छ ।
आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो ।
यसैगरी अनेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राईसहित १० जनालाई इटहरी चोकबाट पक्राउ गरिएको छ । प्रहरीले अनावश्यक बल प्रयोग गरी आफूहरुलाई नियन्त्रणमा लिएक अध्यक्ष राईले हिरासतबाटै जानकारी गराएका छ्न ।
लोकसेवा आयोगले संविधानविरुद्ध आरक्षण नछुट्याइ विज्ञापन गरेको भन्दै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित लगायतका समुदाय केही सातादेखि निरन्तर आन्दोलनमा छन् ।






