एटा संवाददाता
लन्डन । बेलायतस्थित नेपाली क्रिकेट क्लबहरुबीच एक दिने ब्रिटिस नेप्लिज प्रिमियर लिग (बिएनपीएल) टुर्नामेन्ट आयोजना हुने भएको छ ।
गत शनिबार २० जुलाईका दिन अक्सब्रिजस्थित मोन्क नेप्लिज क्वीइजीनमा आयोजित पत्रकार सम्मेलनमा आउँदो ११ अगस्टमा लन्डन टाईगर्स स्पोट्र्स कम्प्लेक्स साउथहलमा आयोजना गर्न लागिएको आयोजक केटिएम ट्राभल्स एण्ड टुर्स ग्रिनफोर्डले जानकारी दिएको हो ।
६ टिमले भाग लिन लागेको खेलमा ब्रिगेड अफ गोर्खाजलाई रेड ट्वीन्टी सेभन मोबाईलले, टेन क्युओजिएलआरलाई पीपल स्टेट एजेन्टले, गोर्खाज कन्स्ट्रक्सनलाई ह्यारो गोर्खा कन्स्ट्रक्सनले, डाँफे क्रिकेट क्लब ग्रिनफोर्डलाई एचटिआर केयर एण्ड रिक्यु्रटमेन्टले र हिमालय क्रिकेट क्लबलाई योर ड्राईभिङ्ग स्कुलले र नयाँ युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने टुर्नामेन्ट डाईरेक्टर विनोदविकास सिंखडाले जानकारी दिए ।
१५ सयदेखि २५ सय जना दर्शकको अपेक्षा गरिएको टुर्नामेन्टमा करिब १० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ । सो रकम विभिन्न व्यवसायीहरुले स्पोन्सर गर्ने एभेन्ट डाईरेक्टर सुनिल थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रायोजकहरु पीपल ग्रुप, योर ड्राईभिङ्ग स्कुल, गोर्खा कन्स्ट्रक्सन, एचटिआर केयर एण्ड रिक्यु्रटमेन्ट र आयोजक समूहबीच प्रायोजनबारे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
प्रत्येक टिमबाट १०० पाउन्ड दर्ता शुल्क लिइने सो खेलका बिजेता टिमलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले बताए । त्यस्तै, म्यान अफ दि म्याच लगायतका पुरस्कारसमेत व्यवस्था छ ।
लिगको आधारमा खेलाइने टुर्नामेन्टमा हेल्थ एण्ड सेफ्टीलाई विशेष ध्यान दिइने जानकारी गराउँदै प्राथमिक उपचार, बिमा र सुरक्षाको व्यवस्था गरिने आयोजकले जनाएको छ । सो टुर्नामेन्टमा नेपाली नर्सिङ्ग एशोसिएसन यूकेले प्राथमिक उपचारमा सघाउने भएका छन् ।
पत्रकार सम्मेलनमा नेपाली क्रिकेट क्लब र नेपालीहरुले संचालन गरेका कोपरेट फर्महरुलाई एकै ठाउँमा ल्याउने, युवा खेलाडीहरुलाई अवसर प्रदान गराउने उद्देश्यका साथ टुर्नामेन्टको आयोजना गर्न लागिएको आयोजक समूहको विश्वास छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको टुर्नामेन्टमा सहभागी भई नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्न आयोजकले बेलायतवासी नेपालीहरुसमक्ष अनुरोध गरे ।
टिम ड्रसमेत गरिएको पत्रकार सम्मेलनमा अपरेशन डाईरेक्टर अभिषेक भट्टराई, टिम डाईरेक्टर बिक्रम गुरुङ, प्रायोजकहरु पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङ, योर ड्राईभिङ्ग स्कुलका होमराज बिष्ट, गोर्खा कन्स्ट्रक्सनका प्रमिश श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्यु्रटमेन्टका टंक भट्टराई, सोनम थापा, केदार जैसी लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।






