महिलाहरुलाई नेतृत्वमा पुर्याउन नेपालको संविधानले धेरै भूमिका खेलेको छ । जसकारण धेरै नेपाली महिलाहरु नेतृत्वमा रहेर अनुभव बटुलिरहेका छन् । यस्तै नेतृत्वमा पुग्नयोग्य गैरआवसीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष पुनम गुरुङले पनि महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदको दाबेदारी प्रस्तुत गरेकी छिन् । अचेल उनको दौडधूप पनि बढेको छ ।
बेलायतमा बसोबास गर्ने नेपालीहरुमध्ये ठूलो हिस्सा ओगोटेर बसेका एउटा जातीय समुदायकी चेली हुनाले र उनमा रहेको इमान्दारिता, बफादारिता, लगनशीलता, कर्तव्यपरायण एवं शिक्षित र सक्षम महिला भएकोले उनी नेतृत्वमा पुगेको चाह राख्ने थुप्रै बेलायतवासी जनसमुदाय छन् । गुरुङ समुदायको बसोबास बेलायतमा बाक्लो रहेकाले र पुनमप्रति जनअपेक्षाले गर्दा उनको जित सुनिश्चित रहेको समेत आँकलन छ ।
सामाजिक संघसंस्थामा लामो समयदेखि सक्रिय पुनम गुरुङको जन्म गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ४५ वर्षअघि भएको हो । बाबा कर्नेल मणिन्द्र र आमा कृष्णकुमारी गुरुङको कोखबाट प्रथम सन्तानको रुपमा जन्म लिएकी थिइन् उनी । बाबाको नेपाली सेनाको जागिरको सिलसिलामा नेपालका विभिन्न ठाउँहरुमा बसोबास गर्ने तथा शिक्षा लिने अवसर पाए तापनि उनले स्कुल लिटल एन्जल्स र वीरेन्द्र सैनिक कलेजमा अध्ययन पूरा गरेकी हुन् । स्नातकको त्रिचन्द्र कलेजबाट उत्तीर्ण गरेकी हुन् । यूकेवासी महिलाहरु गैरआवासीय नेपाली संघ यूकेको नेतृत्व लिन सक्षम भएको र त्यो समय आएको बताउने पुनम गुरुङले नेतृत्व पाए घोषणापत्रका प्रतिबद्धताहरु एक–एक गरेर पूरा गर्ने वाचासमेत गरेकी छिन् ।
पुनम गुरुङ आजभन्दा झन्डै १६ वर्ष पहिला समाजसेवी तथा सफल व्यवसायी कमल गुरुङसँग लगनगाँठो कसेर बेलायत छिरेकी हुन् । बेलायत बसाइमा उनले धेरै अनुभव बटुलेकी छिन् । उनका श्रीमान्को रेस्टुरेन्ट र प्रोपर्टी व्यवसायलाई हातमा हात, काँधमा काँध गर्दै अगाडि बढेकी पुनमले व्यापारलाई सही दिशानिर्देश गरेकै कारणले गर्दा कमल र पुनमले बेलायती भूमिमा व्यापार व्यवसायमा छल्याङ मार्न सफल भए । उनी एक साहसी तथा सफल महिला व्यवसायी हुन् भने एक सफल समाजसेवी पनि । एनआरएनए यूकेको नेतृत्वको दौडमा रहेकी पुनम तमुधिं यूके आमा समूहका संस्थापक अध्यक्ष हुन् भने घोताने परिवार बेलायतका संस्थापक आमा प्रमुख । पुनम गुरुङले क्यान्सर रिसर्च यूकेमा आठ वर्षसम्म स्वयंसेविका बनेर क्यान्सर रिसर्च यूकेलाई सहयोग गरी अनुभव बटुलीसकेकी छिन् भने सहयोग गर्ने र अनुभव बटुल्ने काम जारी छ । उनी नेपाली महिला संघ यूकेका उपाध्यक्ष हुन् भने नेपाली बेजिङस्टोक नेपाली कम्युनिटीका सल्लाहकार हुन् ।
पुनम गुरुङले गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष योगकुमार फगामीको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको कार्यभार सम्हाली अध्यक्षको अनुभव बटुलीसकेकी छिन् । उनलाई काउन्सिल बैठकको प्रमुख संयोजकको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी थिइन् भने गैरआवासीय नेपाली संघ यूकेले संचालन गर्दै आएको विभिन्न कार्यक्रमहरुजस्तै राज्य व्यवस्था समन्वय समिति, च्यारिटी कार्यक्रमहरुमा उनले सफलतापूर्वक भूमिका निभाएकी छिन् । हरेक सालहरुमा भइराख्ने क्षेत्रीय सम्मेलन, ग्लोबल सम्मेलनहरुमा समेत उपस्थित भएर अनुभव बटुलेका पुनमले बेलायतका तत्कालीन प्रधानमन्त्री टेरेजा मे समक्ष गैरआवासीय नेपाली संघ यूकेको जनगणना हस्तान्तरण कार्यक्रममा सहभागिता जनाइन् ।
बलात्कारपछि हत्या गरिएकी नेपाली चेली निर्मला पन्तको हत्यारालाई चाँडोभन्दा चाँडो पत्ता लगाई कानुनी कठघरामा ल्याउन र पीडित परिवारलाई राहत दिनको लागि बेलायतस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन् ।
पुनम गुरुङ फुर्सदको समयमा समाजसेवा गर्न, किताब पढ्न रुचाउँछिन् भने बाँकी समय दुई छोरीहरु रोशनी, चेल्सी र श्रीमान् कमल गुरुङसँग भ्रमणमा निस्कने गर्छिन् ।
प्रस्तुति : चिम्खोले काइँला






