घेदुङका अध्यक्ष गोलेको कडा चेतावनी, ‘कपुतहरुलाई जिउँदै आगो लगाउने दिन आउन सक्छ’

SHARE:

काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विज्ञापन सञ्चाउन अटेर गरिरहे जिउँदै जलाउने दिन आउनसक्ने चेतावनी दिएका छन् ।

२५ औं विश्व आदिवासी दिवसका अवसरमा माइतीघरमा आयोजित विरोधसभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष तामाङले आरक्षणरहित लोकसेवा आयोगको विज्ञापन नसच्याए पुतलामात्रै नभई जिउँदै जलाइदिने चेतावनी दिए । ‘हामीले सडकमा लालबाबु पण्डित मुर्दाबाद नारा लगायौं टेरेनन्, उमेश मैनाली मुर्दावादको नारा लगायौं टेरेनन्, त्यसपछि असनको गल्लीमा लगेर लालबाबु पण्डित र उमेश मैनालीको पुतला दहन गर्‍यौं टेरेनन्’ उनले भनेका थिए, ‘म यही मञ्चबाट भन्न चाहन्छु लालबाबु पण्डित र उमेश मैनालीहरुले अझै अटेर गरिरहने हो भने तिमीजस्ता कपुतहरुलाई जिउँदै आगो लगाएर जलाउने दिन आउँछ इतिहासमा, खबरदार ।’

मन्त्री पण्डित, अध्यक्ष मैनालीहरुले काँक्रो चोरले जसरी संविधानमा व्यवस्था भएको आरक्षण चोरिएको उनको भनाइ थियो । अध्यक्ष गोलेको चेतावनी थियो, ‘दिउँसै आरक्षण चोर्ने काँक्रो चोरहरुलाई मुड्के सास्ती दिनका लागि हामी आदिवासी तयार छौं ।’ आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, पिछडिएका क्षेत्र, अपांगता भएका समुदायले कुनै नौलो माग राखेर राज्यसत्तालाई अप्ठ्यारो पार्न नखोजिएको प्रस्ट्याउँदै उनले संविधान, ऐन कानुनले गरेको व्यवस्था कार्यान्वयन गर्न मात्र भनिएको बताए ।

४५ प्रतिशत आरक्षणको सुनिश्चितता गर्न उनले माग गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले चटके शैलीमा पानीमा पनि आरक्षण मागियो भनेको विषयलाई प्रतिवाद गर्दै अध्यक्ष गोलेले माझी समुदायका युवाले ४५ प्रतिशत आरक्षण दिने र पौडी खेल्नका लागि तयार रहन प्रधानमन्त्रीलाई चुनौती दिए । उनले थपे, ‘तपाईंका युवाहरु कुस्ती खेल्न तयार छन् भने आरक्षण दिन हामी तयार छौं । तपाईको ८० केजीको युवासँग ६० केजीका तामाङ युवा भिड्न तयार छ । २० केजी आरक्षण भयो तपाई (प्रधानमन्त्री) लाई ।’

अध्यक्ष गोलेले विश्व आदिवासी दिवसको प्रदर्शनलाई तेस्रो जनआन्दोलन सुरुआत भएको उद्घोष गरे । ‘तेस्रो जनआन्दोलनको सुरुआत भयो । अब कुनै पीडक जातिले नेतृत्व गर्ने छैन, तपाई हामीले गर्छौं’ उनले भने, ‘आउनोस् मित्रहरु, लडाइँ सुरु भयो ।’ आन्दोलनका बेला बर्खा र खेतीपाती मात्रै भनेर नबस्न उनले आफ्ना समुदायलाई आग्रह गरे । सिंहदरबारले सयौं वर्षको संघर्षबाट प्राप्त उपलब्धि ढुस गर्न लागेको भन्दै विद्रोहमा सहभागी हुन सबैलाई २५ औं विश्व आदिवासीले तागत दिने उनले विश्वास व्यक्त गरे ।

यस वर्ष जनजातिले शुक्रबार विश्व आदिवासी दिवस आन्दोलनकै रुपमा मानेका थिए । सांस्कृतिक झाँकीसहित भृकुटीमण्डपबाट निस्किएको र्‍याली सहरका विभिन्न ठाउँ परिक्रमा गरेर माइतीघर मण्डलामा जम्मा भएका थिए ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले असमावेशी र आरक्षण कट्टागरी विज्ञापन निकालेको भन्दै सरोकारवाला समुदाय चरणबद्ध आन्दोलनमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!