एटा संवाददाता
लन्डन । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्धको जन्मभूमि नेपालमै भएतापनि राणा शासनकालमा नेपालमा बौद्ध धर्म प्रतिवन्धित थियो भन्दै २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र सो धर्म माथिको प्रतिवन्ध हटेको बताएका छन् ।
उनले गत बुधबार २१ अगष्ट साँझ अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर भवनमा सोही कम्युनिटी सेन्टरद्वारा आयोजित कार्यक्रममा बौद्ध धर्मबारे दिएको प्रवचनको क्रममा उक्त कुरा बताएका हुन् ।
उनले बुद्धको पञ्चशीलको सिद्धान्तबारे चर्चा गर्दै अहिले युरोपमा बौद्ध धर्म फैलिँदै आएको जनाए । सो अवसरमा उनले बुद्ध पूर्णिमा दिनलाई विश्व ध्यान दिवसको रुपमा मनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले ‘ओशो अपोवन एउटा कम्युन हो’ भन्दै ‘मानिस एक्लै बस्न सक्दैनन्, त्यस कारण पनि समुदाय चाहिन्छ’ त्यसको आफूहरुले शुरुवात गरेका बताए । साथै, उनले अबको बुद्ध भनेको ओशो हुन् भन्दै मानव जीवनमा योग, ध्यान र प्राणायमको अत्यन्त जरुरी रहेकोले यसको अभ्यास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तपोवनका स्वामीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । साथै, उनले लण्डन नजिकै गत २३ देखि २६ अगष्टसम्म चार दिने ध्यान शिविर समेत संचालन गरेका थिए ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव बिक्रम भट्टराईले संचालन गरेका थिए ।






