एनआरएनए यूकेलाई अझैं गतिशील बनाउन विधि, प्रक्रिया, पारदर्शीता र जवाफदेहितापूर्वक सामूहिक नेतृत्वको अवधारणाबाट चलाउन मेरो उम्मेदवारी हो: भोलाबिक्रम राई, एनआरएनए यूके, सचिव पदको उम्मेदवार

SHARE:

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आउँदो १४ सेप्टेम्बरमा आठौं महाधिवेशन हुँदैछ । सो महाधिवेशनबाट निर्वाचित हुने एनआरएन यूके, राष्ट्रिय समन्वय परिषद् २७, आईसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० र १० गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये एनआरएन यूके, राष्ट्रिय समन्वय परिषद्का सचिवका उम्मेदवार अधिवक्ता भोलाबिक्रम राईसँग आसन्न निर्वाचनका सन्दर्भमा गरिएको कुराकानी प्रस्तुत गरेका छौं:

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा अहिले तपाई सचिव पद उम्मेदवार बन्नु भएछ । तपाईको उम्मेदवारी के का लागि ?
गएको महाधिवेशनहरुबाट नै साथीभाइहरुले मलाई कुनै न कुनै पदमा उम्मेदवार बन्न आग्रह गरिरहनु भएको थियो । र, मलाई पनि गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको कार्यसमितिभित्र बसेर काम गर्ने तीव्र इच्छा पहिलेदेखि नै भए पनि विविध कारणले अगाडि आउन नसकिरहेको अवस्थामा पुन: साथीहरूले झक्झक्याउनु भएपछि यही मेरो लागि सही समय हो भन्ने ठानेपछि उम्मेदवार बनेको हुँ ।
मेरो उम्मेदवारीको सन्दर्भमा भन्नु पर्दा विगतमा मैले विभिन्न अन्य सामाजिक संघ संस्थामा काम गरेर प्राप्त गरेको अनुभवको उपयोग गर्दै एनआरएन यूकेलाई अझैं गतिशील, प्रभावकारी र समयसांपेक्ष बनाउन, विधि, प्रक्रिया, पारदर्शीता र जवाफदेहितापूर्वक सामूहिक नेतृत्वको अवधारणाबाट चलाउन साथै सीमित वर्ग र समुदायमा मात्र खुम्चिएको एनआरएनए यूकेलाई यूकेभरी बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरुको घर घरसम्म पुर्‍याउन मेरो उम्मेदवारी हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सन्दर्भमा तपाई धेरैको लागि परिचित हुनुहुन्न । यस्तो अवस्थामा तपाई आफू विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिभित्र रहेर काम नगरे पनि म विगत लामो समयदेखि यस गरिमामय संस्थाको पञ्जीकृत सदस्य रहेर यसको हरेक गतिविधिहरू नजिकबाट नियालिरहेकोले यो संस्था मेरो लागि सर्वथा नौलो होइन । म पनि विगत लामो समयदेखि बेलायतमा कुनै न रुपमा अन्य सामाजिक संघ संस्थामा आबद्ध भएर सामाजिक सेवाका कार्यहरु गर्दै आएको र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमार्फत सामाजिक सेवाको कार्यहरुलाई अझ फराकिलो बनाउँदै अगाडि बढ्न स्वत:स्पूmर्तरुपमा उम्मेदवार बनेकोले बेलायतका अग्रज सामाजिक अभियन्ताहरुस गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अग्रजहरु र सम्पूर्ण न्यायप्रेमी बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको माया पाउने कुरामा ढुक्क छु ।
तपाई सचिव पदमा नै यतिखेर उम्मेदवार बन्नुको कारण के हो ?
सामाजिक सेवा गर्ने सन्दर्भमा मेरो लागि पद सधै गौण विषय बन ेपनि साथीहरुले विगतमा मैले विभिन्न संघसंस्थामा महासचिव वा सचिव पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसकेको अनुभव देखेर होला सायद मेरो लागि यही पद उपयुक्त सम्झेर सचिव पदमा उम्मेदवार बन्न आग्रह गर्नु भएको कारण सचिव पदमा नै उम्मेदवार बनेको हुँ ।
एनआरएनए यूकेको विगत हेर्दा र अहिले पनि नेपालको राजनीतिक दल, जातीय, क्षेत्रीय आदि इत्यादिको प्रभावमा रहेर प्यानल बन्ने र बनाउने गरिएको देखिन्छ र त्यसको प्रभाव अहिले पनि देखिन्छ । तपाईंचाहिँ कुन प्यानलमा हुनुहुन्छ ?
राजनीतिक दल, जातीय, क्षेत्रीय वा अन्य कुनै पनि आधारमा खुलारुपमा प्यानल बनाएर चुनाव लड्न गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियामावली २०१९ ले बन्देज लगाए पनि तपाईले भनेजस्तै विगतमा र अहिले पनि कुनै न कुनै रुपमा यस्को अभ्यास भएको छ र त्यस निरन्तरताको क्रमभंगता भएको अवस्था अहिले पनि छैन । दुर्भाग्यपूर्ण कुरा के छ भने, हामी बेलायत जस्तो विकसित, सभ्य, उन्नत र फराकिलो सोच भएको समाजमा बस्छौं । तर, राजनैतिक आस्था, जातीयता, क्षेत्रीयता वा अन्य प्रभावमा परी एक अर्कालाई निषेध गर्छौं, अरुको असल विचारको सम्मान गर्दैनौं र राम्रोलाई होइन, हाम्रोलाई रोज्छौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई सम्पूर्ण यूकेवासी नेपालीको साझा संस्थाको रुपमा विकास गराउने हो भने अहिले भइरहेको अभ्यासलाई रोक्नुको विकल्प छैन ।
हाम्रोलाई होइन, राम्रोलाई स्थापित गराउने प्रणालीको विकास गर्नु पर्छ । यसका लागि आवश्यक परे अहिले भइरहेको एनआरएन यूकेको सांगठानिक संरचना र निर्वाचन प्रणालीलाई समेत फेरबदल गर्नु जरुरी छ । र, यो अवसरमा यूकेवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीहिनीहरुमा के विश्वास दिलाउन चाहन्छु भने यदि मलाई विजयी गराउनु भयो भने विद्यमान यस्ता चरम विकृतिलाई रोक्न मेरो पूर्ण पहलकदमी हुनेछ ।
जहाँसम्म मेरो कुन प्यानल भन्नुभन्दा अगाडि म के भन्न चाहन्छु भने अहिले अध्यक्षको चुनावी मैदानमा रहनुभएका शेरबहादुर सुनार र पुनम गुरुङ दुवै सक्षम र एनआरएनए यूकेलाई कुनै न कुनै समय नेतृत्व गर्नुपर्ने आवश्यक व्यक्तित्वहरु हुनुहुन्छ । र, उहाँहरु दुवैप्रति मेरो समान आदरभाव छ । तर, दुर्भाग्य दुवै जनाले एकैचोटि अध्यक्षमा दाबी गर्नुभयो । यतिखेर वास्तवमा म मात्र होइन, हामी सम्पूर्ण बेलायतवासी नेपालीहरुले नै गलत समयको सिकार भयौं र हामीले दुई असलहरुमध्ये एकलाई रोज्नु पर्ने छ र एकलाई रोज्दा अर्को असल र संस्थालाई आवश्यक व्यक्तित्वलाई गुमाउनु पर्ने अवस्था छ ।
म व्यक्तिगतरुपमा प्यानल बनाएर चुनाव लड्ने कुराको विरोधी भए पनि चुनाव जित्नै पर्ने बाध्यता र अन्य विविध कारणहरुले टिम बनाएर अगाडि बढ्ने क्रममा शेरबहादुर सुनारको समावेशी समूहसँग गाँसिन पुगेको छु ।
सहमति भएर मतदान नहुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
हाम्रो नेपालका नेताहरू सधैं भन्नुहुन्छ, ‘राजनीति भनेको संभावनाको खेल हो ।’ यो भनाइ मलाई निकै नै प्रिय लाग्छ । यसमा थप म के भन्न चाहन्छु भने, राजनीतिमात्र होइन प्रत्येक मान्छेका जीवन, समाज वा यो ब्रमाण्डमा भएका प्रत्येक वस्तुहरू कुनै न कुनै घटना परिघटना हुने संभावनाबाट गुज्रिरहेको हुन्छ ।
यसर्थ अहिले एनआरएनए यूकेमा भइरहेको चुनावी माहोलमा पनि अन्तिम क्षणसम्म सहमति हुने कुरालाई नकार्न सकिँदैन । अस्तीसम्म ५ जनाले अध्यक्षमा दाबी गरिरहनुभएको थियो, आज दुई जनामा झर्नु भयो । अब दुई जना बीचमा पनि आपसी संवाद र वार्ता भए सहमति हुँदैन भन्न सकिँदैन ।
र, यसमा के जोड दिन चाहन्छु भने–मैले माथि नै भनेजस्तै अहिले अध्यक्षको चुनावी मैदानमा रहनु भएका शेरबहादुर सुनार र पुनम गुरुङ दुवै सक्षम र एनआरएनए यूकेलाई कुनै न कुनै समय नेतृत्व गर्नुपर्ने आवश्यक व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुको एउटै समयमा अध्यक्षको दाबीले सम्पूर्ण वेलायतवासी नेपालीहरुमा अप्ठ्यारो परिस्थितिको सिर्जना गरेको छ । र, उहाँहरुबीच आपसी सहमति भएर चुनाव नहुने वातावरण भए सबैलाई सजिलो पनि हुने थियो ।
तपाईको विचारमा सहमतिको बुँदाहरु के के हुनसक्छ ?
सहमतिको बुँदाहरु खोज्नुभन्दा अगाडि पहिले सहमतिको प्रयास हुन जरुरी छ । यसका लागि निर्वाचन समिति, एनआरएनए यूकेका अग्रज अभियन्ताहरू, अन्य समाजका अग्रज सामाजिक अभियन्ताहरु र प्रवासमा हाम्रो राज्यको प्रतिनिधित्व गर्न नेपाली दूतावास र त्यहाँका प्रमुख महामहिम राजदूतज्यूले अध्यक्षको लागि दाबी गरिरहनुभएका शेरबहादुर सुनार र पुनम गुरुङ दुवैबीच संवाद र वार्ताको लागि पहल गरिदिन पर्‍यो ।
यसरी एक ठाउँमा बस्ने वातावरण बनेपछि सबैको सल्लाह र सुझावमा कुनै न कुनै सहमतिका बुँदाहरू भेटिन सक्छन् । तर यसका लागि म दुवै अध्यक्षको प्रत्यासीहरूलाई आफूलाई उचालेर भिडाउने र त्यसको मज्जा लिने भीडको कुरा होइन आफ्नो भित्री मन (अन्तष्करण) को कुरा सुन्न आग्रह गर्छु ।
जहाँसम्म सहमतिको बुँदाहरु के–के हुन सक्लान् भन्ने प्रश्नमा मेरो व्यक्तिगत रायको बारेमा भन्नुपर्दा चाहिँ एनआरएनए यूकेको इतिहासमा हामीले आलोपालो अध्यक्ष हुने परिपाटीको अभ्यास गरिसकेकै छौ र त्यही अभ्यासलाई पुनरावृत्ति गर्न पनि सकिन्छ । यसमा थप के गर्न चाहन्छु भने, एउटा अध्यक्ष रहँदा अर्को सह–अध्यक्ष रहने र फेरि सह–अध्यक्ष रहेको व्यक्ति अध्यक्ष बन्दा पहिला अध्यक्ष भएको व्यक्ति सह–अध्यक्ष भएर कार्यसमितिमै रहने भयो भने दुवै व्यक्तिले एनआरएनए यूकेलाई नेतृत्व पनि गर्ने र दुवैको संस्थामा निरन्तर योगदान पनि रहने हुन्छ । यसो हुन सके दुवै अध्यक्ष पदको उम्मेदवारहरुको र समग्र यूकेमा बसोबास गरिरहेको नेपालीहरुको जित हुने वातावरण पनि बन्छ । यस्तै सुत्रहरु प्रयोग गरेर एवम्रितले अन्य पदहरुमा पनि सहमति गराउन सकिन्छ ।
सचिव पदमा अन्य धेरै व्यक्तिहरु पनि उम्मेदवार छन् । यदि सहमति बन्ने वातावरण बन्यो भने तपाई आफ्नो उम्मेदवारी त्यागेर सहमतिको लागि मार्गप्रसस्त गर्नुसक्नु हुन्छ ?
म यहाँलाई के विश्वास दिलाउन चाहन्छु भने, एनआरएनए यूकेमा आउन चाहेको म सँगको सामाजिक सेवाको भावलाई अझै फराकिलो माध्यमबाट बढाऊँ र अझै धेरै सामाजिक सेवामा आफूलाई समर्पित गरुँ भनेर हो न कि कुनै पद प्राप्ति गरेर म आफ्नो सान वा रवाफ अरुलाई देखाऊँ भनेर हो ।
यसर्थ ममा पदलोलुपता कति पनि छैन । म एनआरएन यूकेमा भए पनि, नभए पनि कुनै न कुनै माध्यमबाट सामाजिक सेवाको कार्यमा आफूलाई समर्पित गरिरहेको छु र गरिरहन्छु ।
जहाँसम्म सहमतिको लागि मेरो आफ्नो उम्मेदवारी त्याग्ने प्रश्न छ, यसमा के भन्न चाहन्छु भने यदि सहमति हुन्छ भने म कुनै पनि सहमतिको बाधक बन्ने छैन । तर स्पष्टरुपमा म के भन्न चाहन्छु भने, अन्य सचिव पदका उम्मेदवार साथीहरू कुन अर्थमा एनआरएन यूकेमा रहनु पर्ने र मैले कुन अर्थमा एनआरएन यूकेमा नरहनु पर्ने र आफ्नो उम्मेदवारी त्याग्नु पर्ने ? भन्ने स्पष्ट कारण वा तर्क ल्याउनुभयो भने म कुनै पनि समय आफ्नो उम्मेदवारी त्यागेर सहमतिको लागी मार्गप्रसस्त गर्न तयार छु ।
यहाँले विभिन्न पदहरु सिर्जना गरी आकांक्षीहरुको ब्यवस्थापन गरेर पनि सहमति गर्न सकिने कुरा गर्नु भयो । यसो गर्दा विधानसम्मत होला त ?
एनआरएनए यूके र यस संस्थामा आबद्ध हामी ब्यक्तिहरु यो विधानको लागि बनेका होइनौं । बरु विधानचाहिँ यो संस्था र यो संस्थामा आबद्ध ब्यक्तिहरुलाई व्यवस्थित गर्न र गराउनलाई बनाइएकोले सहमतिको बाधक विधान बन्दैन । हामीमा सहमति गरेर अगाडि बढ्नु पर्छ भन्ने इच्छाशक्ति मात्र भए यो विधानलाई कुनै पनि समय संशोधन गरेर सहमतिको ढोका खोल्न सकिन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
लोकप्रिय साप्ताहिक पत्रिकामार्फत मेरो कुराहरु राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । सेप्टेम्बर १४ नजिकै आउँदैछ । त्यो दिन भन्दा अगाडि सकिन्छ भने एनआरएनए यूकेको सर्वसम्मत नेतृत्व चयन गर्न सबैले प्रयास गरौं । आपसमा संवाद गरौं, सहकार्य गरौं र सबैले त्यागको भावनालाई उच्च बनाऔं । र, आफू जित्ने होइन सबै बेलायतवासी नेपाली जित्ने वातावरण बनाऔं ।
त्यसो हुन नसकेमा प्रजातन्त्रको उच्चतम् अभ्यास चुनावी प्रक्रियामा जानु त छँदैछ । त्यसको लागि सेप्टेम्बर १४ मा तपाई सम्पूर्ण एनआरएनए यूकेका सदस्यज्यूहरु आफू नजिकको मतदान केन्द्रमा उपस्थित भएर मतदान प्रक्रियामा भाग लिइदिनुहोला र ‘हाम्रोलाई होइन, राम्रोलाई’ मत दिई एनआरएनए यूकेलाई अझैं सशक्त, प्रभावकारी र समयसांपेक्ष बनाउन योगदान गरिदिनु होला । साथै मलाई निर्वाचित गराएर एनआरएनए यूकेलाई सशक्त, प्रभावकारी र समयसांपेक्ष बनाउन भूमिका खेल्न सक्छ भन्ने कुरा यहाँहरुमा विश्वास लागे मलाई सचिव पदमा मत दिई विजय गराउनु होला । यदी यहाँहरूले मलाई विजय गराउनु भएमा यहाँहरुको विश्वासमा तुषारोपात हुनदिने छैन भन्ने प्रतिबद्धता दिलाउन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!