तिहारमा डम्फु बजाउनु ठिक कि बेठिक ? [विचार]

SHARE:

गायक पोङ्दिला च्याङ्बा (सञ्जीव योन्जन) लगायतका कलाकारहरुले तिहारमा डम्फू बजाएपछि कृया प्रतिकृयाहरु आइरहेका छन् । यही बेला केही विषयमा बहस गर्नैपर्छ भन्ने लाग्यो ।

पहिलो कुरा, यस विषयलाई कुनै कलाकारले देउसीमा डम्फू बजायो, केही अभियन्ता र अगुवाहरुले प्रश्न उठाए भनेर मात्रै हेरियो भने हामी साँघुरो घेराबाट विषयलाई हेरिरहेका हुन्छौं । यो विषयलाई बुझ्न आजको पुँजीवादी विश्व व्यवस्था उसले विच्छ्याएको राजनैतिक– साँस्कृतिक जाल र पृथ्वीको कुल जनसंख्याको करिब ६ प्रतिशत अर्थात करिब साढे ४७ करोड आदिवासीहरुले भोगिरहेको चुनौतीको तहबाट हेर्नुपर्छ ।

विश्व जति जति ‘आधुनिक’ बन्दै जान्छ उति उति आदिवासीहरुमाथि संकट चुलिँदै गइरहेको छ । संसारैभरिका गैरआदिवासीहरुले प्रकृतिमा विध्वंस मच्चाइरहेको छ र त्यसको पहिलो असर आदिवासीहरुले भोगिरहेका छन् । भाषा, संस्कृति सभ्यता लुटेर आदिवासीहरुलाई ‘आधुनिक बन्’ भनिरहेको छ । आदिवासीहरु पनि गम्भीर दुविधामा छन्, आधुनिक बनौं, आफ्नो पहिचान नष्ट हुने । पहिचान जोगाऔं, बदलिँदो दुनियाँमा बाँच्नै नसक्ने । डम्फू बजाएर बसौं, के खाने ? खाना खान डम्फू बनाएर बेचौं, आफ्नो संस्कृति बेच्यो भन्दिने । यस्तो अन्यौलता, दुविधा संसारैभरिका आदिवासीहरुले भोगिरहेका छन् । यही दुविधाको परिणाम हो, तिहारमा डम्फू बजाउँदा कसैलाई ठिक लाग्ने, कसैलाई बेठिक ।

यसलाई सही तरिकाले बुझ्न आजको विश्व व्यवस्थालाई मिहिन ढंगले नियाल्नै पर्छ । आजको व्यवस्था पुँजीवादी विश्व व्यवस्था हो । पुँजीवाद साँस्कृतिक, जैविक विविधता नष्ट गर्दै दुनियाँलाई केवल उपभोक्ता मात्रै बनाउन दौडिरहेको छ । किनकी पुँजीवादको आधार बजारवाद हो । बजारवादले आदिवासीसँग भएको हर विषयको मूल्य तोक्छ । उसले हाम्रो डम्फूको मूल्य तोकेको छ, टुङ्ना र सेलो भाकाको मूल्य पनि तोकेको छ । सबथोक लुटेर बजारमा केन्द्रीत गर्न चाहान्छ ऊ । त्यसैले उसले आदिवासीको भूमि खोसिरहेको छ, संस्कृति मासिरहेको छ । आदिवासीहरु आफ्नो सभ्यताको मलामी आफै जान विवस हुँदै गइरहेका छन् ।

नेपालजस्तो चरम परनिर्भर मुलुक विश्व पुँजीवादको एजेन्ट होइन, केवल दास बनिरहेको छ । आफैंदास बनेको नेपालले आफ्नो सत्ता टिकाउने एउटा स्थानीय औजार बनाउँदै आइरहेको छ, हिन्दु धर्म । यो धर्म लिच्छवीकाल हुँदै महेन्द्रसम्म आइपुग्दा हाम्रो नसा नसामा घुसिसकेको छ । गणतन्त्रपछि धर्म निरपेक्ष मुलुक भनिए पनि हाम्रा नसाबाट हिन्दु धर्म निस्किएन । यो अधुरो गणतन्त्रलाई हिन्दुत्वको विष मार्ने भ्याक्सिनबाट समृद्ध बनाउन सकेनौं । पुँजीवादको दास, हिन्दुत्व बोकिहिँड्ने लम्पट गणतन्त्र मात्रै अहिले हामीले ल्याउन सक्यौं । यस्तो अधकल्चो गणतन्त्रमा हामी अलमलिरहेका छौं । अलमल व्यवहारमा देखिन्छ । जस्तै ः हाम्रो शरिरमा सामन्ती हिन्दुवादी विष सक्रिय हुँदा हामी गणतन्त्रमा पनि राष्ट्रपतिको हातबाट टिका थाप्न खादा बोकेर सितल निवास अघि लाम लाग्न पुग्छौं । दास मनोवृत्तिको घटिया उदाहरण यो हो । हाम्रो शरिरमा पुँजीवादी विष सक्रिय हुँदा बहुराष्ट्रिय कम्पनीहरुलाई प्रायोजक बनाएर टुँडिखेलमा ल्होछार मनाउँछौं । खास आदिवासीपन सक्रिय हुँदा विद्रोह आन्दोलन गर्न पुग्छौं ।

पुँजीवादी, हिन्दुवादी विषमा लट्ठ भएपछि हामीलाई न विगतको इतिहास सम्झिन मन लाग्छ, न भविष्यको चित्र कोर्न । यी विचारहरुको उदेश्य नै यही हो । एउटाले उपभोक्ता बनाउँछ, अर्कोले भक्त । त्यसपछि हामीलाई फगत यो कुरुप वर्तमान प्यारो हुन्छ । तलबाट आगो लगाइएको भाँडामा भ्यागुता न्यानो मानेर बसिरहेझैं हामी मस्त झुमिरहन्छौं । त्यसपछि जहाँ ननाच्नुपर्ने त्यहाँ गएर नाच्न मन लाग्छ, जहाँ नगाउनुपर्ने त्यहाँ गएर गाउन मन लाग्छ, जहाँ खादा बोकेर नजानुपर्ने त्यहाँ जान मन लाग्छ ।

त्यसैले दोस व्यक्ति विशेषको होइन, आजको विश्व, समाज र बदलिँदो परिवेशलाई सही दृष्टिकोणले हेर्न नसक्नुको हो । सही विश्व दृष्टिकोणको अभावमा तामाङ समाज कुहिरोको कागजस्तो भइरहेको छ । बाटो अलमल भइरहेको हामीबाट अरुले फाइदा लिइरहेका छन् ।

२१ औं शताब्दीमा तामाङ राष्ट्रलाई आवश्यक कुन विश्वदृष्टिकोण हो ? पुर्खाको ज्ञान र आधुनिक ज्ञानबिच कहाँ टकराव परिरहेको छ ? तामाङसँग भएको आदिवासी ज्ञानले मात्रै यो जातिको अस्तित्व जोगिन सक्छ कि सक्दैन ? कुन वैचारिकीबाट अघि बढ्दा पृथ्वीको एउटा सुन्दर र अलग विविधता तामाङले आफ्नो अस्तित्व जोगाउँदै अघि बढ्न सक्छ ? प्रकृतिको नजिक रहेको तामाङ समाज जोगिँदा नेपाली समाज र सिंगै संसारको लागि के राम्रो हुन्छ ? संसारको लागि हामी किन आवश्यक छ ?
यसबारे विना पूर्वाग्रह, बिना ढिलासुस्ती बहस थालौं ।

नत्र,
मानव समाजको इतिहासमा नियान्डरथलको चिहानमाथि होमो सेपियन्स जन्मिएजस्तै तामाङ सभ्यताको खरानीमाथि अर्कैले झन्डा गाड्न सक्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!