जब मुख्य चाडबाड नजिकिन्छन्, तब सरकारले बजार अनुगमन पनि जोडतोडले गरेको बताउँछ । र, केही गर्छ पनि । बजार अनुमगनको हल्लाखल्ला चाडबाड नजिकिएपछि व्यापक नै हुने गर्छ । अझ मन्त्री नै बजार अनुमगनमा निस्किएर केके नै गरेको जस्तो देखाउने प्रवृत्ति नौलो होइन । यो एकातिर राम्रो पक्ष पनि हो भने अर्कोतिर यसले बजारलाई व्यवस्थित गर्न कत्तिको मद्दत गर्छ भन्ने कुरा पनि हो ।
बजार अनुगमन चाडबाड केन्द्रीत हुनुलाई एउटा पर्वको रुपमा नै लिन सक्ने आधारहरु पनि छन् । चाडबाडमा बढी सामानहरुको किनबेच हुने, मिसावट हुने जस्ता कुकृत्यहरु पनि हुन्छन् नै । त्यसका लागि अनुमगन चाडबाडकै बेलामा मात्र गर्नुले अर्को मोलमोलाईका लागि भाउ बढाएको अनुमान लगाउन सकिने तर्कहरु पनि छन् ।
आम उपभोक्ताले स्वच्छ, स्वस्थ र सुविधायुक्त खानेकुरा, लाउने कुराको व्यवस्था गर्न पाइयो भने उत्तम नै हो । रकम तिरेपछि बजारमा सहज रुपमा सामान खरिद गर्न पाउने व्यवस्था गर्नु पर्दछ । कतिपय सामानहरु सीमित व्यापारीको नियन्त्रणमा राख्ने र बजारमा अभाव सिर्जना गर्ने प्रवृत्ति नयाँ होइन । कृत्तिम अभाव गराउने व्यापारीमाथि कारवाही कहिल्यै पनि हुन सकेको छैन । अभाव गर्नेहरुसँगै मिलेर उल्टै नियामक निकायका तालुकदारहरुले मोजमस्ती गर्ने गरेको जनगुनासो व्यापक बन्ने गरेका छन् । यस्तो हुनु आमउपभोक्ताका लागि दुर्भाग्यको कुरा हो ।
बजारमा अखाद्य वस्तुहरुको व्यापक चल्ती छ । मिसावटयुक्त खाद्य सामग्री उस्तै बग्रेल्ती छ । ती सामाग्रीहरुको नियमन उचित रुपमा हुन सकेको छैन । संस्थागत रुपमा नै यस्ता सामग्रीहरु बजारमा आएका छन् । बजारमा आएका मिसावट अखाद्य वस्तुहरुको अनुमगनको कुनै निचोडमा पुग्ने स्थिति देखिदैन । अखाद्य वस्तुको व्यापार गर्नेहरु मालामाल भइरहेका छन् । तर, बजार अनुमगन फितलो हुँदा त्यस्ता व्यापारीले प्रश्रय पाइरहेका छन् ।
विदेशबाट आयात भएका लत्ताकपडादेखि अन्य सामग्रीहरुमा पनि व्यापक चर्को मूल्य लिने गरिएको छ । भन्सारमा कम मूल्यांकन गर्ने र बजारमा बिक्री गर्दा उच्च मूल्य असुल्ने प्रवृत्ति नौलो होइन । भन्सारमा राम्रो भन्सार तिरेर ल्याएका छन् भने उनीहरुले सोही मूल्यअनुसार कति बढी लिन पाउने हो ? निक्यौल गरेर बिक्री गर्ने व्यवस्था गर्नुपर्छ । होइन भने मनपरी बजार मूल्यले पक्कै पनि हामी उपभोक्तालाई फाइदा त गर्दैन नै । सबैभन्दा कालोबजारी बढ्ने र स्वच्छ व्यापार गर्नेहरु मासिने खतरा दिनदिनै बढ्नेछ ।
त्यसैले समग्रमा बजार अनुमगन पर्व पर्वमा नभई नियमित गर्न जरुरी छ । अनुमगनका लागि मोलमोलाई गर्ने किसिमले मौकामा चौका हान्ने गर्नाले काठमाडौंको न्यूरोडमा राजश्वका कर्मचारीहरुमाथि व्यापारीहरु जाइलाग्ने स्थिति नबन्ला भन्न सकिन्न । यसको मतलब बजारमा जे भइरहेको छ, व्यापारीले स्वतन्त्र रुपमा छुट पाउनुपर्छ भन्ने पनि होइन । त्यसका लागि उचित मापदण्ड बनाएर बजार व्यवस्थिति गर्न सक्नुपर्छ । होइन भने व्यापारबाट राज्य पनि ठगिने, उपभोक्ता पनि ठगिने प्रवृत्तिले सीमित व्यापारीलाई मात्र फाइदा पुग्दछ । त्यसैले कर्मकाण्डी अनुगमन सधैका लागि बन्द गरिनुपर्छ । व्यवस्थित मापदण्डका आधारमा बजार व्यवस्थित गर्न राज्यको ध्यान जान जरुरी छ ।






