लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी जनवरी ४, २०२७ (२०८३ पुस २० गते) काठमाडौंमा पहिलो ‘गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ।
‘महिला सशक्तिकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने एनआरएनएले जनाएको छ। सम्मेलनबारे बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनएको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा नेपालका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनको मुख्य उद्देश्य स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाबीच अनुभव, ज्ञान र सीप आदानप्रदान गर्नुका साथै महिला सशक्तिकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका उपाय खोज्नु रहेको छ।
सम्मेलनमा महिला सशक्तिकरणसँग सम्बन्धित चार प्रमुख विषयगत क्षेत्रमा छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिनेछ। पहिलो विषयअन्तर्गत महिला सशक्तिकरणसँग सम्बन्धित विद्यमान ऐन, नीति, निर्देशिका तथा संस्थागत संरचनाको समीक्षा गरिनेछ। विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयमा छलफल हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयलाई प्राथमिकता दिइनेछ। यसमा एनआरएनएको भूमिका र आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिने जनाइएको छ।
महिला उद्यमशीलता तथा आर्थिक सशक्तिकरणअन्तर्गत स्वदेश र विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता बढाउने विषयमा छलफल हुनेछ।
त्यसैगरी, रसुवा–भोटेकोशी बाढीलगायत प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनमा महिलाको भूमिका पनि सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्। लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको सुरक्षा एवं संरक्षणका विषयसमेत उठाइनेछ।
सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव र सफलताका कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ। साथै, नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा सम्मेलनले भूमिका खेल्ने विश्वास एनआरएनएले लिएको छ।
महिला सशक्तिकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजना हुन लागेको सम्मेलन सफल बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता, सहयोग र सहकार्यका लागि संघले अनुरोध गरेको छ।






