प्रवासबाटै चम्किरहेका अभिनेता सुवास

SHARE:

दुई दशकभन्दा बढी समयदेखि गुरुङ भाषाको चलचित्र लेखन, निर्देशन र अभिनयमा सक्रिय छन् सुवास (गणेश) गुरुङ । लामो समयको संघर्षबाट यस क्षेत्रमा परिचित सुवास अहिले हङकङ बस्छन् । हङकङ बसाईलाई सन् २००८ बाट स्थायी बनाएका सुवास त्यहाँ जागिर गर्छन् । हुन् त हङकङमा पहिलो पाइला टेकेको सुवासले १९९८ मै हो ।
०००

ज्यान प्रवासमै भए पनि उनले न त मातृभूमि भुले, न त मौलिक संस्कार संस्कृति, चलचित्र र गीत, संगीत नै । यही क्षेत्रलाई निरन्तरता दिनकै लागि वर्षैपिच्छे नेपाल आउजाउ गर्छन् उनी । चलचित्र फाँटमा दरो परिचय बनाएका सुवासले यो चोटिको नेपाल आगमनमा नवीन काम गरे, त्यो हो मौलिक सालैजो गीत ‘गाजलु आँखा’ स्रोता, दर्शकमाझ पस्केर । सो गीतमा सुवासको लेखन र स्वर छ । जुन गीतमा संगीत संयोजन आरके (रामकुमार) गुरुङले गरेका छन् । महिला आवाज भने पुनम गुरुङको छ ।

‘मेरो कोसिस हरेक वर्ष नेपाल आउँदा चलचित्र बनाउने, गीत संगीतका काम गरेर फर्कनेमा हुन्छ,’ उनले सुनाए, ‘नयाँ पुस्तालाई भाषा सिकाउने, गाउँ समाजको संस्कार, संस्कृतिलाई सिनेमाभित्र राख्ने कोसिस गरेको छु ।’

उनले २० वर्षअघि आप्mनै चलचित्रका गीतहरु भने गाएका थिए । गाजलु आँखा मौलिक सिर्जना हो । जसमा एक गाउँदेखि अर्को गाउँको सोल्टिनीसँग भेट भा बेला मायापिरती गाँसौं भन्ने भावलाई प्रस्तुत गरिएको छ ।
०००
दोर्दी गाउँपालिका १ भारते लमजुङमा जन्मिएका सुवासले यसअघि गुरुङ भाषाको ‘मुरबै सारा’, ‘आकाशको तारा’ गीतिसंग्रह र, ‘अग्लो डाँडैमा’ दोहोरी, ‘सम्झना रोधीघर’को गीत निकालिसके । सानो र किशोर अवस्थामा गाउँघरको गोठालो, मेलापातदेखि नै गाउन थालेका सुवास आफ्नो मौलिकपनलाई विभिन्न विधाका सिर्जनामा समेट्न सिपालु छन् । जीवनकाल रमझममा बित्दै गएको ठान्ने उनी प्रवासमा पनि विभिन्न संगठनको सांस्कृतिक विभागको जिम्मेवारीमा छन् । एभरेस्ट टाइम्सकर्मीसँग अघिल्लो शनिबार सामाखुसी काठमाडौंमा वातचित गर्दै उनले दैनिकी सुनाए, ‘कामबाट फुर्सद भए जन्मे–हुर्केको ठाउँ, बालापन सम्झने गर्छु ।’ जाँडरक्सी खाएर फोकटमा बित्ने समय कलाकारितामा लगाउने गरेको उनी बताउँछन् । गाउँको पाखा पखेरमा गुन्जिने भाका, बाआमाले गुनगुनाउने गीत पनि आफ्नो सिर्जनामा समेट्ने गरेका छन् सुवासले ।
०००
सुवासले चलचित्रमा पाइला टेकेको ठ्याक्कै वर्ष भन्ने हो भने २०५७ हो । उनका अनुसार प्रितम गुरुङ निर्देशित ‘काँसी’ चलचित्रमा नायकको रुपमा डेब्यू गरे । जुन चलचित्र दर्शकले अत्यधिक मन पराए पनि । त्यसपछि ०५९ मा सुवास निर्माता र प्रितम गुरुङको लेखन चलचित्र ‘म्ही थेबा’ बन्यो । जसमा सुवास ‘लाटो’को भूमिकामा थिए । चलचित्रको भूमिकामा जे देखियो त्यही लाटो भनेर अझै आफूलाई चिन्ने गरेको सुवासले हाँस्दै सुनाए ।
०००
प्रवासमा जागिर खाँदै नेपाली मौलिक चलचित्रलाई निरन्तरता दिँदै आएका गुरुङले २०६० सालमा ङै नासा (मेरो गाउँ) चलचित्र लेखन, निर्देशन गरे । ०७३ मै कुटुम्बेरी साइनो, भेँडी गोठाले र खै ओ म्हीथेबा (आयो है ठूलो मान्छे) चलचित्र बनाउने संयोग जुर्‍यो सुवासलाई । १ दशकको फिल्मी यात्रामा उनले ११ वटा चलचित्र दर्शकमाझ पस्किसके । आफ्नो लेखन, निर्देशन र अभिनय रहेको चलचित्रले विभिन्न अवार्ड प्राप्त गर्दा उनी निकै हर्षविभार हुन्छन् ।

सुवास निर्देशित गुरुङ भाषाको ‘भेँडी गोठाले’ चलचित्रले २०७३ को आदिवासी जनजाति उत्कृष्ट चलचित्र सम्मान पुरस्कार, अमेरिकामा भएको समारोहमा निफ अवार्ड २०१८ मा वेस्ट याक्टर र पब्लिक च्वाइस अवार्ड जित्यो । त्यत्तिमात्र कहाँ होर, ‘खै ओ म्हीथेबा’ले त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भयो । इटालीमा भएको कार्यक्रममा आरएजीएफएफ वेस्ट ह्युमन राइटस् अवार्ड पायो भने एपीएचआरओडीआईडीएफ फिल्म वेस्ट अवार्ड पनि खै ओ म्हीथेबाले पाउन सफल भयो ।

कोलोराडो इन्टरनेसनल फिल्म फेस्टिभलमा वेस्ट फिल्म अवार्ड जितिसकेको छ । सोही चलचित्र यूके, रसिया, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, चिली लगायत १४ देशमा अफिसियल सेलेक्सनमा परेको नायक, निर्देशक सुवास गुरुङ जानकारी दिन्छन् ।

चलचित्र, गीत संगीतमा आपूmले गरेको मेहनत र गरिएको खर्चबाट बालबालिका र अन्य पुस्तामा गाउँले जनजीवन, रहनसहन, भाषा, संस्कार, संस्कृतिबारे राम्रो सन्देश गएको उनलाई अनुभूत हुन्छ । चलचित्रमार्पmत् भाषा र अन्य ज्ञान होस् भनेर उनले अंग्रेजी सबटाइटल आफ्ना चलचित्रहरुमा दिने गरेका छन् । सुरुको दिनमा रहरैरहरले चलचित्र क्षेत्रमा हामफालेका सुवासलाई विस्तारै समुदायप्रतिको जिम्मेवारीबोध र बाध्यता बन्दै गयो । अग्रजले पनि चलचित्र बनाउन सुझाव दिइरहे । आर्थिक रुपले अहिलेसम्म लाभ हुन सकेको छैन, चलचित्र र गीत संगीत क्षेत्रबाट उनलाई । भन्छन्, ‘आर्थिक रुपले कत्ति चलचित्र घाटामा छन् ।’ मातृभाषामा बनेका चलचित्र मात्रै होइन, व्यावसायिक र अपेक्षा गरेका नेपाली मूलधारका चलचित्रसमेत अप्ठेरो अवस्थामा रहेकोको भन्दै उनी चित्त बुझाउने गर्छन् ।
०००
वास्तवमा भन्ने हो भने नेपालीपन बोकेको चलचित्र भनेको आदिवासी चलचित्र हो । अबको समय गाउँठाउँका कथावस्तु उनिएका चलचित्र चल्ने उनको बुझाइ छ । ती कथाहरु आदिवासीधारमा बनेका चलचित्रमा हुन्छन् । मातृभाषी र मौलिकतामा आधारित चलचित्रकर्मी सुवास भन्छन्, ‘हामी अरुको कपी गर्दैंनौं । व्यावसायिक भनिएका नेपाली चलचित्रहरुले विदेशी नक्कल गर्छन् ।’

नेपालमा हरविषयका चलचित्र निर्माण गर्न सम्भावना रहेको र नयाँ प्रविधि पनि भित्रिइसकेको उनले बताए । आदिवासी चलचित्रमा नेपालको ओरिजिनालिटी आउँछ । साँच्चै भन्ने हो भने आदिवासी चलचित्रले फड्को मारिसकेको बुझाई सुवासमा छ । नयाँ पुस्ताले पनि सिकेर यस क्षेत्रमा लाग्दा राम्रो हुने सुझाव पनि दिन्छन्, सुवास ।
०००
चलचित्र वा अन्य गीत, संगीत सबैलाई आधुनिकीकरण गर्न नहुने विचार छ उनको । तैपनि आदिवासी चलचित्र विस्तारै आधुनिकीकरण र अन्तर्राष्ट्रियकरण हुँदै जाने अवस्थालाई भने उनी नकार्न सक्दैनन् । यसलाई समयसांपेक्ष बनाउने, परिवर्तन गर्ने र मौलिक संस्कार, संस्कृतिलाई वैज्ञानिक तर्क र तरिकाले विस्तार गर्दै लैजानुपर्ने बताउँछन्, चलचित्रकर्मी सुवास गुरुङ ।
०००
मौलिक संस्कार संस्कृतिमा आधारित चलचित्र निर्माणमा जमिरहेका सुवासमा मूलधार भनिने नेपाली चलचित्रमा लाग्ने सोच पहिलेदेखि नै नभएको होइन । तर, आदिवासी जनजातिभित्रका मौलिक चलचित्र निर्माण गर्ने र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने र आप्mनो पहिचान स्थापित गर्ने दृढ अठोटले यस क्षेत्रमा लागिरहेको बताउँछन् उनी । अहिले पनि साथीहरुमार्फत् नेपाली चलचित्रमा खेल्ने अफर घरीघरी आइरहन्छ रे उनलाई । उनी भन्छन्, निकट भविष्यमा नेपाली चलचित्र गर्छु होला ।
०००
हजुरबाले गर्नुभएको, बाले पाउनुभयो, बा पछि हामीले केही पायौं । मौलिकपन बोकेका हाम्रा सिर्जनालाई श्रव्यदृश्य माध्यमबाट आगामी पुस्ताले केही सिकोस् । विभिन्न ठाउँका भाषा, संस्कार, संस्कृति, पोसाक आमदर्शकमाझ पुग्छ, चलचित्र र अन्य सिर्जनामार्फत् । सिनेमाकर्मीले पाउने क्रेडिट भनेकै समाजका लागि केही गरेका छन् भन्ने प्रतिक्रिया हो उनको बुझाइमा । जस्तै कठिन र संघर्ष झेलेर पनि आफ्नो प्रतिभा प्रस्फुटन र समाजमा केही दिन नयाँपुस्ता चलचित्र, गीत संगीतमा लाग्नुपर्ने सुवास बताउँछन् । उनका अनुसार कला सिकाउने विद्यालय र कलेज खुलेकाले नयाँ पुस्ताले अध्ययन गरेर यस क्षेत्रमा लाग्दा राम्रो हुने छ ।
०००
आदिवासी जनजाति चलचित्रकर्मीको निख्खर पहिचान बनाएका सुवास नयाँ चलचित्र भेँडी गोठाले २ मा अनुबन्धित भइसकेका छन् । त्यसो त, उनी आफैं आउने वर्ष ‘पुरानो घर’ चलचित्र निर्माण गरिछाड्ने ध्याउन्नमा छन् । पुरानो घर चलचित्रमा प्रवासमा बसेकाको कथाव्यथा उन्ने उनको योजना छ । जसको छायांकन ५० प्रतिशत विदेशमा र ५० प्रतिशत नेपालमा गर्ने सोच पनि बनिसकेको छ । तर, ठाउँ भने एकीन भइनसकेको सुवास बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!