सबैभन्दा व्यस्त सडक हो चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड । अहिले यहाँ काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त भेटिन्छन् ।
‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदूर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन् ।
मजदूर कतै फलामको डण्डीको भर्याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।
ती कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी बन्दै आएको छ । दुर्घटनाको जोखिम कम पनि भएकै हो । पहिरो खसे पनि एकैचोटी तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम भएको हो ।
अचेल चट्टान खोप्न सो क्षेत्रको सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिदै आएको छ । यसको मास सो मार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले व्यहोर्नु परिरहेको छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाएको छ । सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।
विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गत वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।
नारायण–मुग्लिन सडक निर्माण (स्तरोन्नति) को काम २०७२ सालको शुरुबाट थालिएको थियो । कूल रु दुई अर्ब ९० करोडको ठेक्का सम्झौता थियो ।
पन्ध्र महिना ढिला गरी आयोजना २०७५ सालमा सम्पन्न भयो । आयोजनाको सबै गरेर कूल बजेट भने तीन करोड ९० लाख डलरको हो । सडकको कूल लम्बाइ ३४ किलोमिटरको हो । सडक चौडाइ बढीमा ११ र कम्तीमा नौ मिटरको बनाइएको छ । उक्त सडक एशियाली मापदण्डको बनेको छ । अहिले यहाँ यात्रा गर्ने यात्रु र चालक सहज महसुस गर्छन् । त्यही सडक स्तरोन्नति गर्दा काटिएको भित्तो खस्नाले विगतमा प्रहरीको गाडी नै बगाएको थियो ।
सडक विस्तारको काम थालिएपछि पहिरोमा सातजनाको मृत्यु भएको र अझै एक प्रहरी हराइरहेका छन् । साठ्ठी वटा गाडीमा क्षति पुगेको विवरण छ । नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका छवटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् । चितवनको नारायणगढदेखि दासढुङ्गा १ नं, दासढुङ्गादेखि सिमलतालसम्म २ नं र त्यसपछि मुग्लिनसम्म ३ नं क्षेत्र छुट्याएर काम भएको हो ।
भारतबाट यही सडक भएर ८० प्रतिशत सामान आयात हुने गर्छ । राजधानी काठमाडौँलाई मुलुकको पूर्वी र पश्चिमी भागसँग उक्त सडकले जोड्छ । चितवन प्रहरीका अनुसार उक्त सडक भएर दैनिक १० हजार गाडी गुड्छन् । यी सडक प्रभावकारी रुपमा नबन्दा सास्ती भने सधैंका लागि उत्तिकै बन्दै आएको छ ।






