एटा संवाददाता
अल्डरसट । तमु फोरम युकेको साधारणसभा सम्पन्न भएको छ । तमु संस्कार र संस्कृति जोगाउने उद्देश्यका साथ स्थापना भएको तमु फोरम युकेको गत १३ मे आइतबार २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको हो ।
विभिन्न बिषयमा छलफल गरिएको सो कार्यक्रममा फोरमले प्रकाशन गर्न लागेको गुरुङको संस्कार र संस्कृति समेटिएको त्रिभाषिय पुस्तकको समय तथा लागतको बारेमा कोषाध्यक्ष जुमकाजी गुरुङले र व्यवस्थापनको बिषयमा निर्देशक क्या. राजु गुरुङ र मेजर लाल बहादुर गुरुङले बिशेष जानकारी दिएका थिए । त्यस्तै क्या.ग्यारी घलले विधानको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विज्ञहरुकोतर्फबाट डा. चन्द्र गुरुङ, सुमल कुमार गुरुङ र एकेन्द्र गुरुङले बोलेका थिए । त्यस्तै, खेगी तथा धर्मगुरुको बारेमा पच्ह्युहरुको तर्फबाट जीत गुरुङ, लामाहरुको तर्फबाट धरम गुरुङ र घ्याप्रीहरुकोतर्फबाट हिरा गुरुङले बोलेका थिए ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको सो साधारणसभामा पेश भएको प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको थियो ।
तमु फोरमका निर्देशक क्या. राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फोरमका उपनिर्देशक हरि गुरुङले संचालन गरेको पूर्व प्र.अ.एकेन्द्र गुरुङले जानकारी दिए ।






