गुगलले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स, एआइ सिस्टमले डाक्टर भन्दा सही रुपमा स्तन क्यान्सरको पहिचान गर्न सक्ने बताएको छ । क्यान्सरका अनुसन्धानकर्ता र प्राविधिक कम्पनीले संयुक्त रुपमा निर्माण गरेको सो सिस्टम क्यान्सर पहिचानको विषयमा कति ठीक हुन सक्छ भन्नेमा यसअघि परीक्षण गरिएको थियो । जसपछि नै यो प्रविधिले मानव विज्ञहरुलाई समेत हराउन सक्ने निष्कर्ष निकालिएको हो ।

सो अध्ययन वैज्ञानिक जर्नल नेचरमा प्रकाशित गरिएको छ । उक्त एआइ प्राग्राम अमेरिका र बेलायतका महिलाहरुको हजारौ म्यामोग्राम (स्तन परीक्षण गर्ने एक्स–रे) को प्रयोग गरि क्यान्सर पत्ता लगाउनकै लागि डिजाइन गरिएको थियो । यसको सुरुवाती परीक्षणमा सो सिस्टमको डाटा चिकित्सकहरु भन्दा सटिक र सहि भएको पत्ता लागेको हो ।
अध्ययनका अनुसार ए.आइ प्रविधि प्रयोग गर्नुले क्यान्सर छ भन्ने गलत ‘पोजिटिभ रिजल्ट’ कम देखाएको छ र मानव रेडिओलोजिस्टहरुले फेला पार्न नसकेको डाटाबारे पनि यसले सहि आउटपुट निकाल्न सकेको हो । यसरी मानव विज्ञहरुको तुलनामा एआइले गलत पोजिटिभहरु ५.७ प्रतिशतले र गलत नेगेटिभहरु ९.७ प्रतिशत सहि पहिचान गर्ने गरेको पाइएको छ । यसमा सिस्टमसग बिरामीको इतिहास, पृष्ठभूमी लगायत अतिरिक्त जानकारी नभएता पनि त्यसले यस्तो सफलता हासिल गरेको हो ।
यसबारे क्यान्सर रिसर्च युके सेन्टरकी अध्यक्ष प्रोफेसर आरा दर्जीले आफूले एआइबाट यति प्रभावशाली नतिजाको अपेक्षा नगरेको बताएकी हुन् । महिलाहरुमा स्तन क्यान्सर मृत्युको दोस्रो सबैभन्दा ठूलो कारक हो जसमा रोग छिटै पत्ता लागेर समयमै उपचार गराउने हो भने धेरैको ज्यान बच्न सक्छ । तर प्रायः अवस्थामा स्क्रिनिङका क्रममा क्यान्सर पहिचान नहुदा रोग बढेर माथिल्लो स्टेजसम्म पुग्ने गर्दछ । त्यसैले एआइले यो चुनौतिको प्रभावकारी ढङ्गमा सामना गर्न सक्ने अध्ययनमा उल्लेख गरिएको छ । त्यस्तै रेडिओलोजिस्टको अभावको समस्या सुल्झाउनमा पनि मद्दत मिल्ने बताइएको हो ।






