नुवाकोट । पञ्चकन्या गाउँपालिकाले विवाहित महिलाका लागि १५ दिने पञ्चेबाजा तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत महिला सशक्तीकरण तथा सीप विकास कार्यक्रममार्फत तालिम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मंसिर ८ मा जारी गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक महिलाले सात दिनभित्र आफू सम्बन्धित वडा तथा गाउँपालिकामा सम्पर्क गर्नुपर्नेछ ।
तालिममा सहभागी हुन चाहने महिला अनिवार्य रूपमा विवाहित हुनुपर्ने, उमेर २० वर्षभन्दा माथि र ४५ वर्षभन्दा मुनि हुनुपर्ने तथा नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
गाउँपालिकाले वडास्तरमा १६ जना महिला सहभागी हुने गरी तालिम सञ्चालन गर्ने जनाएको छ । जुन वडामा १६ जना महिला पुग्नेछन्, सोही वडामा तालिम सञ्चालन गरिने सूचनामा उल्लेख छ । तालिममा आवश्यक बाजा तथा सामग्री गाउँपालिकाले नै उपलब्ध गराउनेछ ।
थप जानकारीका लागि गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ ।






