साधारण बोलचालमा हामी नेपालीहरू प्रायः भन्ने गर्छौँ “म काममा जाने हो”, “भोलि मेरो काम छ”।
सुन्दा यी अभिव्यक्तिहरू जति सरल र सामान्य लाग्छन्, यिनको गहिराइ र हाम्रो जीवनमा पार्ने प्रभाव भने त्यति नै व्यापक रहेछ। यी सामान्य अभिव्यक्तिभित्र हाम्रो दैनिक जीवनको नियमितता, समयको अनुशासन, जिम्मेवारी र कर्तव्यबोध लुकेको हुँदो रहेछ।
नियमित काममा जाने दिनहरूमा म बिहान ६ बजे नै घरबाट निस्किसक्नुपर्छ। त्यसभन्दा अगावै उठेर नित्यकर्म सक्नु, कार्यस्थलमा आवश्यक पर्ने सामग्रीहरू तयार पार्नु अनि जीवनसङ्गिनीले बिहानै मायाले तयार पारिदिनुभएको दिउँसोको खाजा झोलामा राख्नु मेरो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। यसरी प्रेम र आत्मीयताका साथ जीवनसाथीको सहयोग पाउनु पनि जीवनको एउटा सौभाग्य हो भन्ने मलाई लाग्छ।
त्यसैगरी, कार्यस्थलसम्म पुग्ने यात्राको पनि आ–आफ्नै कथा र तयारी हुन्छ। कोही बस वा रेलको समयतालिका समात्न हतारिँदै घरबाट निस्कन्छन्, कोही निजी चालकको सुविधामा यात्रा गर्दै दिनभरिका कार्यक्रमको योजना बनाउँछन् भने कतिपय आफैँ सवारीसाधन चलाएर कार्यस्थल पुग्ने गर्छन्।
म पनि आफ्नै गाडी चलाएर काममा जाने गर्दछु। आफैँ सवारी चलाउँदा सडकको अवस्था, मौसम, इन्धन, सवारीसाधनको सुरक्षा र ट्राफिकको ख्याल गर्नुपर्छ। विशेषगरी जाडोयाममा गाडीको सिसामा जमेको हिउँ हटाउन र यात्राको तयारी गर्नसमेत केही अतिरिक्त समय छुट्याउनुपर्ने हुन्छ।
यात्राका साधन र सुविधा फरक–फरक भए पनि सबैलाई एउटै कुराले डोर्याइरहेको हुन्छ— आफ्नो जिम्मेवारी पूरा गर्ने कर्तव्यबोध।
दिनभरि कार्यस्थलको जिम्मेवारीमा व्यस्त भइन्छ। बेलुका थकित शरीर लिएर पुनः गाडी चलाउँदै घर फर्कियो, नुहाइधुवाइ गर्यो, श्रीमतीले तयार पारिराख्नुभएको तातो खाना खायो, केही बेर घरपरिवारसँग भलाकुसारी गर्यो, टेलिभिजन हेर्यो अनि “भोलि बिहान फेरि काममा जानुपर्छ” भन्ने सम्झनाले समयमै ओछ्यानमा पुर्याउँछ। यसरी दिन बित्छन्, हप्ता बित्छन् र वर्षहरू पनि बित्दै जान्छन्।
तर, आज मेरो छुट्टीको दिन।
हिजो राति पनि अलि ढिलोसम्म बसियो। आज बिहान सात बजिसक्दा पनि म ओछ्यानमै पल्टिरहेको छु। न त काममा पुग्ने हतार छ, न त सडकको ट्राफिकको चिन्ता। बिहानको यही शान्त र फुर्सदिलो क्षणमा मनमा एउटा विचार उब्जियो,
मानिसलाई समयको अनुशासनमा बाँध्ने घडीको अलार्म मात्र होइन रहेछ, त्यसको पछाडि रहेको काम र जिम्मेवारी पो रहेछ।
घडीले त समय देखाउँछ, अलार्मले ब्युँझाउँछ, तर ओछ्यानबाट उठेर कर्मतर्फ अघि बढ्न प्रेरित गर्ने शक्ति भने हाम्रो जिम्मेवारी र कर्तव्यबोध नै रहेछ।
कामले मानिसलाई थाहै नपाई एउटा सुन्दर अनुशासनमा हिँडाइरहेको हुन्छ। कतिबेला उठ्ने, कतिबेला खाने, यात्राको तयारी कसरी गर्ने र कतिबेला सुत्ने भन्ने कुरामा कामले नै एउटा नियमित लय स्थापित गरिदिएको हुन्छ।
काम तथा जिम्मेवारीको अभावमा स्पष्ट उद्देश्य र नियमित दैनिकी नभए जीवन नीरस र अस्तव्यस्त पनि बन्न सक्छ। त्यसैले काम आम्दानीको स्रोत मात्र नभई समयको सदुपयोग, आत्मनिर्भरता, आत्मविश्वास र जीवनमा गतिशीलता कायम राख्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो।
कामभित्र लुकेको पारिवारिक माया
अर्कोतर्फ, काम केवल एउटा व्यक्तिको परिश्रमसँग मात्र जोडिएको हुँदैन रहेछ। यसमा घरपरिवारको अदृश्य साथ, माया, सहयोग र त्याग पनि उत्तिकै जोडिएको हुन्छ।
बिहानै उठेर मायाले खाजा तयार पारिदिनेदेखि बेलुका थकित भएर घर फर्कँदा तातो खाना पस्किदिने जीवनसङ्गिनीको साथले बाहिरको सङ्घर्ष र यात्रालाई सहज बनाइरहेको हुन्छ।
हामीले कार्यस्थलमा गरेको श्रमको आर्थिक मूल्याङ्कन हुन्छ, तर घरभित्र परिवारका लागि गरिने श्रम, माया र त्यागको मूल्य सधैँ पैसामा मापन गर्न सकिँदैन। घरभित्र र घरबाहिर गरिने दुवै प्रकारका श्रम उत्तिकै सम्मानयोग्य छन्।
हाम्रो व्यक्तिगत सफलताका पछाडि पनि परिवारका सदस्यहरूको कैयौँ साना–ठूला योगदान लुकेका हुन्छन्, जसलाई हामीले कहिलेकाहीँ सामान्य ठानेर बिर्सिरहेका हुन्छौँ।
काम, जीवन र विश्रामको सन्तुलन
काम महत्त्वपूर्ण छ, तर जीवन केवल कामका लागि मात्र होइन। शरीरलाई आराम, मनलाई शान्ति, परिवारलाई समय र आफूलाई आत्मचिन्तनको अवसर दिनु पनि उत्तिकै आवश्यक छ।
त्यसैले छुट्टीको दिनलाई अल्छी गरेर बिताउने दिनका रूपमा मात्र होइन, आफ्नो शारीरिक तथा मानसिक ऊर्जा पुनः प्राप्त गर्ने, परिवारसँग आत्मीय समय बिताउने र विगतका अनुभवहरूबाट केही सिक्ने अवसरका रूपमा पनि लिनुपर्छ।
नियमित कामले हामीलाई छुट्टीको महत्त्व बुझाउँछ भने छुट्टीले नियमित कामको मूल्य बुझाउँदो रहेछ। जीवनमा कुनै पनि काम सानो वा ठूलो हुँदैन। इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नु, आफ्नै परिश्रममा विश्वास गर्नु र आफू तथा आफ्नो परिवारका लागि योगदान पुर्याउनु नै श्रमको वास्तविक सम्मान हो।
आज छुट्टीको बिहान ओछ्यानमै पल्टिरहँदा मैले महसुस गरेको कुरा यही हो।
कामले जीवनलाई अनुशासन दिन्छ, परिश्रमले आत्मसम्मान दिन्छ, परिवारको मायाले जीवनलाई न्यानोपन दिन्छ र विश्रामले फेरि अघि बढ्ने ऊर्जा दिन्छ। यी सबैको उचित सन्तुलन नै सुखी र सार्थक जीवनको आधार रहेछ।
त्यसैले अब “म काममा जाने हो” र “भोलि मेरो काम छ” भन्ने सामान्य अभिव्यक्तिभित्र पनि म जिम्मेवारी, परिश्रम, समयको अनुशासन, पारिवारिक माया, आत्मसम्मान र जीवनको एउटा सुन्दर लय देख्न थालेको छु।
सायद यही नै हो “काममा जाने त्यो मीठो अनुशासन”।
शिव कुमार गुरुङ
लन्डन, बेलायत






