काठमाडौँ — एसीसी इस्टर्न क्रिकेटअन्तर्गत शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याउँदै क्रममा नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोड्न सफल भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिं ऐरीले समान ३८/३८ रनको योगदान दिए।
त्यस्तै,पवन सर्राफले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाका लागि सर्विन मुनियान्डीले ४,पवनदीप सिंह,स्याजरुल इन्द्रुस र खिजर हायात दुर्रानीले समान २/२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ५१ रन बनाए। उनले ३५ बलमा ४ चौका र २छक्कासहित अर्धशतक बनाएका हुन्। त्यस्तै अनवर अरुद्दीनले ३१ रन बनाउँदा अहमद फैजले ३० रन बनाए। त्यस्तै अमिनुद्दीन राम्लीले २९ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनी योसँगै ट्वान्टी–२० मा सय विकेट लिने पहिलो नेपाली क्रिकेटर पनि बनेका छन्। सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका हुन्। त्यस्तै नेपालका लागि अविनाश बोहोराले २ र करण केसीले १ विकेट लिएका थिए।
इस्टर्न रिजन सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपको छनोटको पहिलो खुड्किलो हो। इस्टर्न रिजनमा नेपाल र मलेसियासहित थाइल्यान्ड, हङकङ, सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्। यसको शीर्ष दुई टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ।






