पोखरा । १८ औं आहा रारा गोल्डकप बिहीबारदेखि सुरु भएको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबले ब्रिगेड ब्वोइजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलको २६ औं मिनेटमा सहाराका खेलाडी जीवन रायमाझीले रातो कार्ड पाए ।
खेलको सुरुवातमा ब्रिगेड ब्वोइजका राजेश परियारले ५८ औं मिनेटमा गोल गरे। त्यस्तै साहाराका सीबी उरिचले ६२ औं मिनेटमा गोल गर्ने बित्तिकै बिग्रेड ब्वोइजले ६३ औं मिनेटमा गोल फर्कायो। सहाराका त्रिदेव गुरुङले ७९ औं मिनेटमा गोल गरे। निर्धारित खेल २–२ को बराबरी हुन गएपछि १५ मिनेट अतिरिक्त समय थपिएको थियो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १०० औं मिनेटमा साहाराका त्रिदेव गुरुङले पुनः गोल गरे। गुरुङ बिहीबारको खेलको म्यान अफ द म्याच घोषित भए। शुक्रबार झापा र एपीएफबीच खेल हुँदैछ । उद्घाटनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत विशिष्ट पाहुना, खेलप्रेमी र अन्य दर्शकको पनि उपस्थिति थियो । प्रतियोगता व्यवस्थापन र हेर्नका लागि सहारा यूके, हङकङ, अस्ट्रेलियाबाट पनि विभिन्न प्रतिनिधि पोखरा आएका छन् । गोल्डकपका झलक एभरेस्ट टाइम्सका फोटो पत्रकार मिलन तमुले कैद गरेका छन् ।



























