लन्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचारकक्ष (आइसीयू) मा सारिएको छ । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएका थिए । विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा थिए । सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।
उनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका थिए । तर यसको अर्थ उनले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन् ।






