पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल बागलुङको शुक्रबार स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए । सो अस्पतालमा दुई जना सङ्क्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए ।
मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए । प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि. पोख्रेल, फिजिसियन डा. प्रदिप श्रेष्ठले सङ्क्रमित बिरामीका बारेमा जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीका बारेमा मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराए ।
मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे । गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि वजेट विनियोजन गर्ने जनाएको छ ।






