खै, तपाईंको तस्बिरमा कसरी श्रद्धाञ्जली लेखूँ? मेरा हातहरू नै काँपिरहेका छन् । तपाईंको हँसिलो अनुहार र बोली अझै पनि मेरा आँखा र कानमा गुञ्जिरहेका छन् ।
७–८ वर्षको अन्तरालमा तपाईंका धेरै प्रोजेक्टमा मेरो स्वर भर्ने अवसर जुर्यो । कहिले हाँसोठट्टा गर्दै, कहिले दुःखसुख बाँड्दै हामीले सँगै कति धेरै काम गर्यौँ । अझै कति धेरै काम सँगै गर्न बाँकी थियो दाइ, किन यति चाँडै हामीलाई छोडेर जानुभयो ?
तपाईंसँग अन्तिम पटक भेट्न पनि पाइनँ दाइ । यो कुराले झन् मन भारी बनाएको छ । साँच्चै, साह्रै गाह्रो भइरहेको छ दाइ ।
अहिले म नेपालमा नभएकाले तपाईंलाई अन्तिम पटक बिदाइ गर्न पनि पाइनँ । मनदेखि चाहेर पनि तपाईंको अन्तिम यात्रामा साथ दिन नसकेकोमा माफ गरिदिनुहोस् है दाइ ।
रगतको नाता नभए पनि आफ्नै घरको बहिनीलाई जस्तै माया गरेर सधैँ राम्रो बाटो देखाउनुभयो । हरेक परिस्थितिमा साथ दिनुभयो, हौसला र माया दिनुभयो । तपाईंले गर्नुभएको त्यो माया र साथ म कहिल्यै बिर्सने छैन ।
आज जीवनले फेरि एउटा कठोर सत्य सम्झाइदियो—जिन्दगी यस्तै रहेछ दाइ, कुन दिन के हुन्छ, कसैलाई थाहा हुँदैन ।
गुरुङ सांस्कृतिक नृत्यको क्षेत्रमा कोरियोग्राफर तथा निर्देशकका रूपमा तपाईंले पुर्याउनुभएको योगदान अतुलनीय छ । गुरुङ संगीत जगत् मात्र नभई समग्र नेपाली संगीत क्षेत्रमा पनि तपाईंले आफ्नो कला, मेहनत र सिर्जनशीलतामार्फत छुट्टै पहिचान बनाउनुभयो । नेपाली कला, संस्कृति र संगीतको क्षेत्रमा तपाईंले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो कलामार्फत छोडेर जानुभएको अमूल्य योगदान र विरासत सधैँ जीवित रहनेछ ।
जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस् दाइ । तपाईंको आत्माले चिरशान्ति पाओस् । तपाईंको हँसिलो अनुहार र तपाईंसँग बिताएका ती पलहरू सधैँ मेरो मनमा जीवित रहनेछन् ।
हार्दिक श्रद्धाञ्जली, मेरो प्यारो दीप दाइ । तपाईंको अभाव सधैँ खड्किरहनेछ ।
यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । यो असह्य पीडा सहन गर्न परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवान्सँग प्रार्थना गर्दछु ।





