काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।
प्रधानमन्त्री ओली शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिएका थिए । मोदीको प्रस्तावमा यसअघि सार्कस्तरीय भिडिय कन्फरेन्स भएको थियो । उक्त सम्मेलनबाट सार्क राष्ट्रबीच कोरोनाविरुद्ध लड्न साझा कोष स्थापना गर्ने निर्णय भएको थियो ।
विश्वव्यापी महामारीको रुपमा फेलिएको कोरोना भाइरसका कारण शुक्रबार दिउँसोसम्म ९५ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाखभन्दा बढी संक्रमित बनेका छन् ।







