प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

SHARE:

विनोदसिंह विष्ट
बैतडी । क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए ।

क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

प्रतिपरिवार दुई हजारको राहत

बैतडीको पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई आजदेखि राहत वितरण कार्य शुरु गरेको छ । छाक टार्न मुस्किल भएका परिवारलाई प्रतिपरिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धाँमीले जानकारी दिए ।

दैनिक छाक टार्न मुस्किल भएका नगर क्षेत्रभित्र ४१० परिवारको पहिचान भएको र उनीहरुलाई राहत वितरण गर्ने कार्य शुरु भएको नगरपालिकाले जनाएको छ । ती परिवारहरुलाई दाल, चामल, नून, तेल र साबुन वितरण गरिन थालिएको हो ।

नेपाली काँग्रेस पुचौँडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री वितरण गरेको छ । भूमिराज मावि कफलढुङ्ग्रामा बसेका सात र जनता आधारभूत विद्यालय रौनालीचौडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रतिव्यक्ति ५० रुपैयाँको रिचार्ज कार्ड वितरण गरेको नेपाली काँग्रेस वडा कार्यसमिति सचिव मोहन साउदले बताए ।

प्रहरी जवान आइसोलेसन भर्ना

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए ।

प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । ३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!