काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो । नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।
कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै उनले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरु, निष्ठापूर्वक निरन्तर समर्पित साथीहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायको उच्च सम्मान गर्दै नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक कृतज्ञता समेत जाहेर गरेका छन् ।






