
एटा संवाददाता ।
लण्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए) ले कोरोनाको कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्नको लागि बेलायतवासी नेपालीहरुबाट हालसम्म संकलन भएको र खर्च भएको रकमको विवरण सार्वजनिक गरेको छ । एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले दिएको जानकारी अनुसार एनआरएनए युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले एनआरएन यूकेको खातामा १९ हजार २ सय ६४ पाउण्ड जम्मा भएको र जस अन्तर्गत ९ हजार १ सय ४० पाउण्ड ‘कोभिड–१९’ अन्तर्गतको बिभिन्न शिर्षकमा खर्च भई १० हजार १ सय २४ पाउण्ड खातामा मौज्दात रहेको जनाइएको छ ।
खर्चका प्रमुख शिर्षकहरुमा यूकेमा अध्ययनरत ७७ जना नेपाली विद्यार्थीहरुलाई खाद्यान्न लगायतको सहयोगमा जम्मा दुईहजार ५८० पाउण्ड खर्च भएको छ । यसैगरी मास्क खरिदमा एकहजार ४२० पाउण्ड खर्च भएको छ भने सेनीटाईजर र सिटामोलमा ३२५ पाउण्ड खर्च भएको जनाएको छ । एनआरएनए आईसीसी मार्फत नेपाल सरकारको कोषमा जाने रकम अन्तर्गत एक हजार ५६१ पाउण्ड उपलब्ध गराइएको बताइएको छ । यसैगरी ६ जना मृतकको परिवारको लागि कुल ३३ सय पाउण्ड पीडीत परिवारको खातामा सहयोग स्वरूप हस्तान्तरण गरिएको छ ।
एनआरएनए यूकेको कोभिड–१९ सहयोग कोषमा अहिले सम्म बेलायतका ३१ वटा नेपाली संघ संस्थाहरुले सहयोग पुर्याएका छन । संघसंस्था हरुसंग सहयोग लगायतको समन्वय एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ स्वयंले गरिरहेकी छन् । त्यस्तै, व्यक्तिगत तवरबाट करिब २०० व्यक्तिहरुले एनआरएनए यूके कोषमा सहयोग गरेका छन् । एनआरएनए यूकेको तर्फबाट सहयोग संकलनको संयोजन इंगल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले गरिरहेका छन् । संयोजक श्रेष्ठका अनुसार प्रतिवद्धताको हिसावले अहिलेसम्म २१ हजार पाउण्ड भन्दा बढीको प्रतिवद्धता प्राप्त भईसकेको बताइएको छ ।
कोभिड–१९ को सहयोग संकलन र वितरण कार्यलाई प्रभावकारी र पारदर्शी बनाउन एनआरएनए यूकेले कोष संचालन सम्बन्धि नियमावली यस अघिनै जारी गरेर सोही अनुरुप कार्यसम्पादन गर्दै आईरहेको छ । एनआरएन यूकेले सचिवस्तरीय हेल्प लाईनको साथै विभिन्न विभागहरुको गठन गरेर उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुको संयोजनमा सहयोग तथा परामर्श जस्ता क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ ।
एनआरएनए यूकेले आर्थिक पारदर्शितालाई मध्यनजर गरेर आम समुदायमा आम्दानी खर्चका विवरण स्पष्ट रुपमा वेबसाइटमा समेत राख्ने तयारी रहेको कोषाध्यक्ष तेजेन्द्र रोका मगरले जनाएको बताइएको छ । एनआरएन यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको महासचिव भट्टराईले ४ जुन बिहिबार जानकारी गराएका छन् ।
स्मरण रहोस् यसअघिको कार्यसमितिले निर्वाचनको क्रममा भएको आम्दानी तथा खर्चमा पारदर्शिता नभएको, करीब चार करोड रुपैयाँ घोटाला भएको भन्दै तत्कालिन कार्यसमिति तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरुले निष्पक्ष छानविन गर्नुपर्ने माँग गरिरहेको अवस्थामा कोरोना भाईरसका कारण लकडाउन भएपछि उक्त बिषय ओझेल परेको धेरैको बुझाई छ । र, लकडाउन पश्चात पक्कै पनि सो बिषयले स्थान पाउने धेरैको विश्वास रहेको छ ।






