
एटा संवाददाता ।
लण्डन । एशियन महिला एशोसिएशन (आमा) युकेले कोभिड–१९ का कारण भएको लकडाउनबाट प्रभावित पोखराका विपन्न, एकल, सुत्केरी, असक्त महिलाहरुलाई राहत वितरण गरेको छ । गत बिहिबार ४ जुनका दिन साउथ ईष्ट रिजनल तमु धिं युकेकी उपाध्यक्ष पार्वती गुरुङ (माईला) र तमु समाज युके आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ (कान्छा) ले माईलाकान्छा अभियानले राहत वितरण गरिरहेको देखेपछि आपूmहरुले पनि उनीहरुमार्फत समाजसेवी सरस्वती गुरुङको संयोजनमा सो राहत वितरण गरिएको आमाकी अध्यक्ष विभा गुरुङले जानकारी दिईन् ।
अध्यक्ष गुरुङको अनुसार आमाले पोखरा नगरपालिका भित्रका कोभिड–१९ बाट अत्यन्त प्रभावित ३३ घर परिवारलाई प्रतिघर एक बोरा चामाल, १ केजी नून र १ लिटर खाने तेल वितरण गरिएको हो । सो ३३ घर परिवार मध्ये २५ घरपरिवारलाई स्थानीय निकायले तोकेको ठाउँमा गई वितरण गरिएको थियो भने अशक्त ८ घर परिवारलाई भने घरमै पुगी वितरण गरेका थिए । कुल ६६ हजार रुपैयाँ बराबरको राहत सामाग्री खरीदका लागि एशियन महिला एशोसिएशन (आमा) ले ३० हजार रुपैया, आमाकी अध्यक्ष एवं गोर्खा मोर्गेजेकी फाईनन्सिलय एड्भाईजर विभा गुरुङले १० हजार रुपैयाँ राहतका लागि सहयोग गरेकी थिईन् । त्यस्तै, जयन्ती गुरुङ, सुमिना गुरुङ, निश्मा गुरुङ र रुपेश गुरुङले समेत आर्थिक सहयोग गरेका थिए ।
यस्तो विषम परिस्थितिमा समेत राहत सामाग्री वितरणमा संयोजन गरिदिने समाजसेवी सरस्वती गुरुङ, आमाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भई सहयोग गर्ने बेलायतवासी नेपाली दिदीबहिनीहरुलाई आमाकी अध्यक्ष गुरुङले धन्यवाद दिएकी छन् । त्यस्तै, जोखिम मोल्दै राहत वितरणमा सक्रिय रहेकी ‘पार्वती गुरुङ (माईला) र माया गुरुङ (कान्छा) को हिम्मतलाई आमाको सलाम’ भनेकी छन् ।
स्मरण रहोस्, सन् २००६ सालमा स्थापना भएको आमाले वार्षिक रुपमा तीज, नारी दिवस, रेस फर लाईफ लगायतको कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै, आमाले हालसम्म नेपालमा क्रियाशिल माईती नेपाल, मुस्कान सेवा, रक्षा नेपाल, व्लाईन्ड रक्स, धुर्मुस सुन्तली फाउण्डेशन, रवि लामिछाने, शिक्षाको लागि सर्मपण, एनआरएनए युकेद्वारा निर्मित म्याग्दीको वृद्धाश्रम लगायतलाई आर्थिक सहयोग गरिसकेको छ भने बेलायतमा साई सेन्टर, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर र वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेलाई समेत आर्थिक सहयोग गरिसकेको छ ।







